इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टरलाई कोरोना पुष्टि

 जेठ ६, २०७७ मंगलबार २०:५८:० | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज कोरोना पुष्टि गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर ललितपुरको पाटनमा बस्दै आएकाे जानकारी दिइएकाे छ ।

कोरोना रेस्पोन्स टिममा संलग्न उहाँको राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षण पोजेटिभ आएको हो । महाशाखामै कार्यरत डाक्टरलाई कोरोना भएको पाइएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशनमा लैजाने तयारी छ ।

यसैगरी आज काठमाण्डाैकाे गोकर्णेश्वर, तारकेश्वर र कालीमाटीमा एक/एक जनामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई पनि नजिकैको अस्पताल लैजाने तयारी गरिएको छ । भक्तपुरमा आज कोरोना पुष्टि भएका व्यक्तिको भने ठाउँ खुलेको छैन । अहिले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज काठमाण्डाै उपत्यकामा पाँचसहित थप २७ जनामा कोरोना पुष्टि गरेको हो । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या चार सय दुई पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार झापामा नाै, कपिलवस्तुमा चार, काठमाण्डाैमा तीन, सर्लाहीमा दुई तथा ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, लमजुङ, सिन्धुली र नवलपरासीमा एक/एक जना गरी २७ जनामा कोरोना पुष्टि भएको हाे । 

आज ललितपुर र सिन्धुलीमा पहिलो पटक कोरोना सङ्क्रमित भेटिएसँगै नेपालकाे ३६ जिल्लामा काेराेना पुगेकाे छ । 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश ५ मा एक सय ७६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश २ मा एक सय ३६ जना, प्रदेश १ मा ५४ जना, वाग्मती प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी प्रदेशमा चार जना र कर्णाली प्रदेशमा एक जना गरी अहिलेसम्म चार सय दुई जनामा कोरोना पुष्टि भएको हो । सङ्क्रमितमध्ये दुई जनाको ज्यान गएको छ भने ३७ जना निको भएका छन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया