हुम्ला, कालीकोट र मुगुका १७ सय बढीकाे स्वाब सङ्कलन, हेलिकप्टरमार्फत जुम्ला ल्याइयो

 जेठ ६, २०७७ मंगलबार २१:३३:२२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली प्रदेशकाे हुम्ला, मुगु र कालीकोटको एक हजार सात सय ५३ जनाको स्वाब सङ्कलन गरेर हेलिकप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याइएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल टोलीले हवाई मार्गमार्फत पीसीआर परीक्षणका लागि सङ्कलन गरेर जुम्ला ल्याएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार हुम्लाका पाँच ठाउँबाट ६ सय जना, कालिकोटको नौ ठाउँबाट ६ सय ५३, मुगुबाट पाँच सय गरी एक हजार सात सय ५३ जनाको स्वाब हेलिकप्टरमार्फत जुम्ला ल्याइएको हो । 

जुम्ला ल्याइएको स्वाब दर्ता गरेर परीक्षण गरिने प्रयोगशाला प्रमुख विवेक पुन मगरले जानकारी दिनुभयो । यसअघि जुम्लाको आठ सय ४७ जनाको एकैदिन स्वाब सङ्कलन गरेर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । 

गएको वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल जुम्ला पुगेर निर्देशन दिएपछि यसैगरी स्वाब सङ्कलन गर्न चिकित्सकको टोली खटाइएको थियो । 

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसअघि जिल्ला बाहिरबाट आएका व्यक्ति, स्वास्थ्यकर्मी र पत्रकारहरु गरी एक हजार तीन सय १२ जनाको जुम्लामै पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।

त्यस्तै तीन सय २४ जनाको स्वाब हेलिकप्टरमार्फत काठमाण्डाै पठाएर परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाे थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया