मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै ‘लिम्पियाधुरासहितकाे नयाँ नक्सा’ सार्वजनिक गर्ने भूमि व्यवस्था मन्त्रालयकाे तयारी

 जेठ ७, २०७७ बुधबार ६:२०:१६ | रासस
unn.prixa.net

काठमाण्डाै - मन्त्रिपरिषद्बाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा नापी विभागका पूर्वमहानिर्देशकहरुसँग आज मन्त्रालयमा भएको छलफलमा यसको तयारी भइरहेको बताउनुभयो ।

उहाँहरुसँगको छलफलमा नेपालले आफ्नो तर्फबाट नक्सा सार्वजनिक गरिसकेपछि छिमेकी मुलुक भारतसँग वार्तामा बस्दा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा कुरा भएको थियो । उहाँले मन्त्रालयले नक्सा बनाएकाले अब जमीन फिर्ता ल्याउन बाँकी रहेको बताउनुभयो ।

मन्त्री अर्यालले सरोकारवाला विज्ञ र राज्यपक्ष दुवै एकै आवाजका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयोे । उहाँले नागरिक समाज र विज्ञले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै मिलेर लाग्दा हाम्रो भूमि फर्काउन सकिन्छ ।”

सरोकारवाला विज्ञहरुले भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा सिधै ल्याउने वातावरण बनाउन सक्नुपर्ने र त्यो राज्यको माथिल्लो तहबाटै हुनुपर्ने बताएका छन् । उनीहरुले अबका दिनमा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा सबै एकजुट भएर अहिले नेपाल सरकारले निकालेको नक्सा नै आधिकारिक हो भनेर एक आवाजका साथ जानुपर्ने बताए ।

नेपालका तर्फबाट सबै सहयोगी दस्तावेजहरु सङ्कलन गर्नुपर्ने र गलत दस्तावेजलाई हटाउनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । हाम्रो सिमाना यो हो भनेर एथेष्ट प्रमाणहरु सङ्कलन गरेर भारतसँग वार्ता गर्नुपर्ने उनीहरुको भनाइ छ ।

लिम्पियाधुराको सिमानामा भर्खरै सरकारले सशस्त्र प्रहरी पोष्ट स्थापना गरे पनि त्यति मात्रले नपुग्ने र सिमानामा नेपाली सेनाको नै उपस्थिति गराइनुपर्ने बताइएको थियो । प्राविधिक रुपमा बलियो भएर नेपालका तर्फबाट वार्तामा जानुपर्ने विज्ञहरुले सुझाव दिएका थिए ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया