कुनै 'ट्राभल हिस्ट्री' नभएका डडेल्धुराका सङ्क्रमित स्क्रब टाइफसको बिरामी

 जेठ ९, २०७७ शुक्रबार २१:४०:११ | सीताराम ओझा
unn.prixa.net

कैलाली – आज एकैदिन सुदूरपश्चिममा पाँच जना काेराेना भाइरसका सङ्क्रमित भेटिएका छन् । उनीहरु कहाँबाट आएका थिए, उनीहरुको ट्राभल हिस्ट्रीकाे खोजी भइरहेको छ । डडेल्धुरामा फेला परेका सङ्क्रमितको भने कुनै ट्राभल हिस्ट्री नरहेको पाइएको छ । 

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगनाथ पन्तका अनुसार उनी जिल्लामै कार्यरत सरकारी कर्मचारी भएको र कहीँ कतैबाट नआएको तथा भिडभाडमा समेत नगएकाे पाइएको छ । 

उनलाई यसअघि स्क्रब टाइफस देखिएकोले औषधि दिएर चिकित्सकले घर पठाएको पाइएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो । उनलाई डडेल्धुरामै आइसोलेशनमा राखिएको छ ।

यता कैलालीका तीन जना सङ्क्रमितमध्ये दुई जनालाई प्रहरीले जबर्जस्ती ल्याएर क्वरेण्टीनमा राखेको खुलेको छ । 

उनीहरुलाई जानकी गाउँपालिकाले घरबाटै प्रहरीकाे सहयाेगमा क्वरेण्टीनमा ल्याएको थियो । जानकी गाउँपालिका ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । 

उनीहरु इटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएको पाइएको छ । वडा नम्बर ४ का सङ्क्रमित गएकाे जेठ १ गते कालाकुण्डा नाका हुँदै भारतको महाराष्ट्रबाट फर्किएको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले जानकारी दिनुभयो । 

वडा नम्बर ७ का दुई जना सङ्क्रमितमध्ये एक जना इटहरी र एक जना बाँकेबाट फर्किएको थाहा भएको उपाध्यक्ष महतोले बताउनुभयो । इटहरीबाट आएका युवक वैशाख ३० गते त्यहाँ पुगेका थिए ।

अर्का सङ्क्रमित युवक जेठ ३ गते बाँकेबाट त्यहाँ पुगेका थिए । उनीहरु तीनै जनालाई सरस्वती माविको क्वरेण्टीनमा राखिएको थियो । भारतबाट फर्किएका युवकलाई सिधै क्वरेण्टीनमा राखिएको थियो भने अन्य दुई जना सङ्क्रमितलाई भने गाउँपालिकाले घरबाटै प्रहरी लगाएर क्वरेण्टीनमा ल्याएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया