मिसावट र हिसाब गाेलमाल : रामेछापकाे लक्ष्मी आयल स्टाेर्स ५ दिनमा दुई पल्ट सिल

 जेठ १२, २०७७ सोमबार १३:०:१८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - सदरमुकाम मन्थलीमा रहेको लक्ष्मी आयल स्टोर्स फेरि सिल गरिएको छ ।

मिसावटयुक्त पेट्रोल बिक्री गरेको गुनासो आएपछि चार दिन अघि प्रशासनले सिल गरेको मन्थलीको लक्ष्मीआयल स्टोर्स  सोमबार फेरि सिल गरिएको हो । 

पम्प सञ्चालकले बजार अनुगमन समितिलाई पनि झुक्याएको र ढाँटेको भन्ने प्रमाणका आधारमा प्रशासनले आयल निगमको प्रतिनिधि समेतको संलग्नतामा  आइतबार राति उक्तपम्पमाथीथप अनुसन्धान गरेको हो । 

आयल निगम काठमाण्डौका वितरण विभाग प्रबन्धक विदुर कोइरालाको नेतृत्वमा खटिएको टोलीले अघिल्लो सिल तोडेर टयाँकीभित्रको इन्धन र नोजल स्ट्याण्ड समेतको निरीक्षण गरेको थियो । 

करिब ३ घण्टा लगाएर गरिएको अनुसन्धानमा पम्प सञ्चालकले आन्तरिक हिसाब कितावपारदर्शी ढंगले नराखेको निगमका प्रतिनिधिले सोधेको धेरै प्रश्नहरुको चित्तबुझदो  जवाफ दिन नसेकेको र अन्य शंकास्पद व्यवहारका आधारमा पम्पमा फेरि सिल गरिएको टोलीका संयोजक प्रशासकीय अधिकृत भाष्कर दाहालले जानकारी दिनुभयाे ।

गएको बिहीबार साँझ प्रशासकीय अधिकृत दाहालको नेतृत्वमा अनुगमनका लागि खटिएको टोलीले मिसावट भेटिएको पेट्रोलको नमुना लिएर स्टोर्सलाई सिल गरेको थियो । 

प्रशासनका अनुसार यसअघि स्टोर्सले मिसावटयुक्त पेटोल बिक्री गरिरहेको र काउण्टर सञ्चालकको  व्यवहार पनि पारदर्शी नहुनेगरी काम हुने गरेको लगायतका सूचनाका आधारमा पम्पमा सिल गरिएको थियो । 

यसअघि पनि बेलाबेलामा ग्राहकहरुबाट विभिन्न गुनासा आउने गरेको पेट्रोलपम्पले केही दिन अघिदेखि मिसावटयुक्त पेटोल बिक्री गर्दे आएको र उक्त पेट्रोलले  मोटरसाइकलको इन्जिन नै बिग्रन थालेपछि पेट्रोल फिर्ता गर्नेहरुकाे संख्या पनि उल्लेख्य छ ।

पम्पले जहाजहरुकालागि मात्र प्रयोगमा ल्याइने हवाई इन्धन ल्याएर मिसावट गर्नै गरेको स्थानीयकाे भनाइ छ ।

अनुगमनका क्रममा काउण्टर सञ्चालक गोमा कार्कीले भने मिसावट देखिएकाे सत्य भएकाे तर कसरी भयाे भन्ने आफूलाई थाहा नभएकाे बताइन् । उनले बिक्री भएको ठूलाे परिमाणकाे इन्धनसमेत फीर्ता ल्याइसकेको दावी गरिन् । पम्पका सञ्चालक रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।

निगमका वितरण विभाग प्रबन्धक कोइरालाले नमुनाको लागि लिएको इन्धन परीक्षण नापतौल तथा गुणस्तर विभागबाट भएपछि बिल भर्पाई तथा हिसाबकिताबको बारेमा टुंगो लगाएर मात्र पम्पको भविष्यको बारेमा भन्न सकिने बताउनुभयाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया