भारतबाट फर्कँदै काभ्रेली, स्थानीय क्वरेण्टीनमा राख्ने तयारी

 जेठ १३, २०७७ मंगलबार १९:५०:३ | रासस
unn.prixa.net

काभ्रे – भारतको सीमावर्ती क्षेत्रमा रोकिएका काभ्रेली धमाधम जिल्ला फर्कन थालेका छन् । 

सुनौली नाकाबाट नेपाल भित्रिएका २३ काभ्रेली गएराति तथा पूर्वी नाकाबाट ल्याइएका ३७ जना आज बिहान जिल्ला आइपुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतबाट आएका नेपालीमध्ये काभ्रेपलाञ्चोकका बासिन्दा सोमबार रातिदेखि आउन थालेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । 

उहाँका अनुसार सुनौली नाकाबाट भित्रिएका त्यही पालिकाको समन्वय तथा आज बिहान आइपुगेका जिल्लाको बेथानचोक गाउँपालिकाले आफ्नै समन्वयमा ल्याइएको हो । ‘काम तथा अन्य सिलसिलामा भारतमा रहेका जिल्लाका बासिन्दा आउने क्रम सुरु भएको छ । त्यही अनुसार व्यवस्थापनमा लागेका छौँ, प्रजिअ तिमल्सिनाले भन्नुभयो । 

सदरमुकाम धुलिखेल आइपुगेकालाई सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सम्बन्धित पालिकाले क्वरेण्टीनमा राख्ने व्यवस्थापन मिलाइएको प्रजिअ तिमल्सिनाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘धुलिखेल आइपुगेकालाई सम्बन्धित पालिकामै पठाउँछौँ, स्थानीयस्तरमा रहेका क्वरेण्टीनमा राखेर स्वास्थ्य परीक्षण हुनेछ ।’ उहाँका अनुसार भारतबाट आएकालाई स्थानीय क्वरेण्टीनमा राखेपछि पहिला आरडीटी गरिनेछ र कोरोना भाइरस पोजेटिभ देखिए पीसीआर परीक्षण गरिनेछ । 

त्यसो त काभ्रेपलाञ्चोकका १३ पालिका तथा संस्थामा तीन सय ४२ शय्याको क्वरेण्टीन व्यवस्थित छन् । अहिले पाँचखाल नगरको क्वरेण्टीनमा दुई, धुलिखेलमा २९, धुलिखेल अस्पतालमा सात, मण्डनदेउपुरमा दुई, तेमाल गाउँपालिकामा एकको उपचार भइरहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोस्टले जनाएको छ । 

पोस्टका अनुसार अन्य केही क्वरेण्टीनमा रहेकाको दोस्रो परीक्षण तथा क्वरेण्टीन बसाइको समयावधि सकेर स्वस्थ्य देखिएपछि घर फर्किएका हुन् । यससँगै अहिलेसम्म जिल्लामा एक हजार ६ सय ५७ जनाको आरडीटी तथा एक सय ७२ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ ।
 
साथै आठ शय्या रहेको धुलिखेल अस्पतालमा ५० शय्याको आइसालेसन कक्ष बनाइने तथा त्यही अस्पतालमा हप्ताको दुई दिनमात्रै स्वाब सङ्कलन/परीक्षण गर्दै आएकोमा अबदेखि दैनिकरूपमा गर्ने तयारी भइरहेको जनाइएको छ ।

केन्द्रका अनुसार भारतलगायत विभिन्न देशमा ११ हजार पाँच सय ८७ काभ्रेपलाञ्चोकका बासिन्दा छन् । तीमध्ये एक हजार एक सय २५ जना भारतमा छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया