अन्तरजातीय प्रेममा हुनुहुन्थ्यो नवराज, अकल्पनीय घटनामा साथीहरुसँगै ज्यान गुमाउनुभयो

 जेठ १३, २०७७ मंगलबार १८:८:४१ | राजु लामिछाने
unn.prixa.net

ज्यान गुमाउनभएका गणेश, टीकाराम र नवराज

रुकुम पश्चिम - तीन वर्ष पहिले सुरु भएको थियो २१ वर्षीय नवराज विकको प्रेमयात्रा । तर गएको शनिबार भेरी नदीमा मिसियो उहाँको जीवनयात्रा । नवराज दलित समुदायको र उहाँको प्रेमिका ठकुरी जातिको भएकोले प्रेमिकाको परिवारले प्रेम सम्बन्धलाई अस्वीकार गर्दै आएको थियो । तर यस्तो अकल्पनीय र अमानवीय घटना होला भनेर कसैले कल्पना गरेको थिएन ।

जातभातको छेकबार 

नवराजकी आमाले जात नमिल्ने भएकोले अगाडि नबढ्न छोरालाई भन्नुभएको थियो । केटी ‘माथिल्लो जात’की हुन् भन्ने थाहा पाएपछि उहाँको बुवाले ‘ए बाबु, विष्टसँग बिहे गर्ने कोसिस नगर’ भनेर सम्झाउनुभएको थियो । 

केटीतर्फकाले सम्बन्धबारे थाहा पाएर अलग गराउने चेतावनी दिइरहेका थिए । कथित तल्लो जातको केटासँगको प्रेम सम्बन्धको कारण अभिभावकको गाली र कुटाइमा परेकी थिइन् नवराजकी १७ वर्षीया प्रेमिका । तर साँचो प्रेमको अगाडि जातभात र समाजको छेकबार झिनो बनेको थियो ।  

कसिलो प्रेम 

विभिन्न अवरोधका बाबजुद उनीहरुको प्रेम सम्बन्ध झन् कसिलो बन्दै गएको थियो । यतिसम्म कि केटी जाजरकोटमा लागेको महोत्सव हेर्न जाँदा नवराजकै घरमा बसेकी थिइन् तीन दिनसम्म । नवराजले प्रेमिकालाई बहिनीको साथी हुन् भनेर आमासँग चिनाउनुभएको थियो । 
नवराज पनि केटीको चौरजहारी नगरपालिका वडा नम्बर ८ को सोतीमा रहेको घरमा वेलावेला आउनुहुन्थ्यो । प्रेमिकाका आफन्तको आँखा छलेर उहाँ भेट्न जानुहुन्थ्यो र फर्किनुहुन्थ्यो । 

स्थानीयको कब्जामा

दोस्रो पटक नवराज प्रेमिकाको गाउँ आएको वेला स्थानीयको कब्जामा पर्नुभएको थियो । प्रेमिकाको बुवाले घरमा छोरी भेट्न आएको चाल पाएपछि अवरोध गर्दा प्रतिकारमा उहाँ पर्नुभएको थियो । 

स्थानीय युवाहरु विनोद मल्ल र लोकेन्द्र घर्तीलगायतले उहाँलाई समातेर चौरजहारीको इलाका प्रहरी कार्यालयमा बुझाउनुभएको थियो ‘लकडाउनको बेला गाउँमा आएको’ भनेर । नवराजका आफन्त प्रहरीमा पुगेपछि लकडाउनको बेला यसरी नहिँड्नू भनेर सम्झाउँदै प्रहरीले उहाँलाई परिवारको जिम्मा लगाएको थियो । 

प्रेमिका भगाउने तयारी 

लकडाउनमा गाउँ छिरेको भन्दै जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ को रानागाउँ निवासी नवराजलाई जातिसूचक गाली वर्षाउँदै प्रहरीमा बुझाइएको घटनाले कटक्क पारेको थियो । आफूलाई पक्राउ गरेर प्रहरीमा बुझाउनेहरुलाई ठिक पारेर भएपनि प्रेमिकालाई भगाएर ल्याउने नवराजको योजनाअनुसार नवराजले साथीहरु बटुलेर शनिबार प्रेमिकाको गाउँतर्फ जानुभएको थियो । आमालाई काफल खान जान्छु भनेर घरबाट दिउँसो १२ बजेतिर निस्कनुभएका नवराजको साथमा बाँके, सल्यान र रुकुम पश्चिमका करिब २० वर्ष उमेर हाराहारीका आफन्त र साथीहरु थिए । 

जाजरकोट र रुकुम पश्चिम जोड्ने धल्ला भन्ने स्थानको पुल तर्दै गर्दा नवराजसहित १८ जना थिए । त्यहीनेर नुहाउन भनेर आएका चौरजहारी नगरपालिका वडा नम्बर ३ का नवराजका साथी गोपाल बुढाथोकी पनि परसम्म सँगै जानुभयो । तर के सोचेर गोपाल बाटैबाट घर फर्किनुभयो । 

यता नवराज १८/२० जना केटा लिएर सोती आएको खबर प्रेमिकाको अभिभावकलाई जाजरकोटबाट पुगिसकेको थियो । केटीका आफन्तबाट आएको खबर सोतीमा रहेका करिब २० घरपरिवारमा फैलियो । नवराज सोती गाउँमा पुग्दा पाँच बजेको थियो । 

बाटोमै रोकिए

घटनाका प्रत्यक्षदर्शी स्थानीय मानबहादुर मल्लका अनुसार आफू घरमा ५ बजेको समाचार हेरिराखेको बेला ती केटाहरुको समूहले विनोद मल्ल र लोकेन्द्र घर्तीलाई खोजिराखेको थियो । विनोद र लोकेन्द्रले यसअघि नवराजलाई समातेर प्रहरीमा बुझाउनुभएको थियो । ‘त्यतिवेला विनोद आफूसँगै भएकोले घरबाहिर जान दिइनँ । पछि मेरै घरअगाडिबाट लामबद्ध भएर हिँडे’ मानबहादुरले भन्नुभयो । 

‘कहाँ जान लागेको भाइहरु भनेर मैले सोध्दा यतै काफल खान जान लागेको भन्दै रोकिएनन् । अलि पर गएर विनोदको आन्टीलाई भेटेर विनोदको नम्बर मागे । उहाँले आफूलाई थाहा नभएको बताएपछि उनीहरु केटीको घरतर्फ सोझिएका थिए ।’ मानबहादुरले भन्नुभयो ।

जाजरकोटबाट नवराजसँगै आउनुभएका उहाँको गाउँले सुदीप खड्काले आफूहरु केटीको घर नपुग्दै केटीको आमाले गाली गर्न थालेपछि बाटोमै रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी अघिअघि थियौँ, नवराजहरु अलि पछि थिए । केटीको आमाले नवराजले छोरी लिन आएको थाहा पाएपछि जातिसूचक गाली गर्न थाल्नुभयो । कसकी छोरीबुहारी उठाउन आयौ भन्दै अपमानजनक शब्द ओकलेर गाली गर्नुभयो । उहाँले मान्छे जम्मा गर्न थाल्नुभयो ।’

गाउँलेबाट ढुङ्गामुढा

प्रेमिकासम्म पुग्न नपाउँदै नवराजको समूह गाउँलेहरुबाट घेरिएको थियो । सुदीपले भन्नुभयो, ‘एकैछिनमा धेरै मान्छे आएर ढुङ्गामुढा गर्न थाले । हामीले भाग्नुको विकल्प देखेनौँ । हाम्रा दुई साथीलाई बाटोमै समाते । बाँकी १६ जना भाग्दै गयौँ । करिब डेढ सय गाउँलेले ढुङ्गा र दाउराले लखेटे ।’

उहाँले थप्नुभयो, ‘कतै भाग्ने बाटो नभएपछि भेरीमा सोझियौँ । त्यहाँ पनि गाउँले पुगिसकेका थिए । मलगायत केही साथीलाई पानीबाटै तानेर कुटे । केही साथी भेरीपारि पुगे । त्यही वेला प्रहरी पुग्यो र हामीलाई ल्यायो ।’ नवराजलाई देख्नुभयो त्यतिबेला ? भन्ने प्रश्नमा सुदीपले भन्नुभयो, ‘हामफाल्दासम्म सँगै थियौँ । पछि देखिनँ । सायद धेरै चोट लागेकोले पौडिन सकेन कि !’ सुदीपले २ जनाबाहेक अरु सबैले भेरीमा हाम फालेको बताउनुभयो । 

ज्यान जोगाउन भागाभाग

नवराजका साथी आशिष विकले घटनाबारे भन्नुभयो, ‘गाली सुन्न नसकेर हामी अलिक तल बाटोमा झरेका थियौँ । एकैछिनमा ढुङ्गामुढा सुरु भइहाल्यो । हामी जति भागे पनि गाउँलेहरू पछिपछि आए । गाउँदेखि तल भेरीसम्म बगरैबगर हामी भाग्यौँ । ज्यान बचाउन कोही कता भागे, कोही कता । साँझको समय थियो, पत्तै भएन । आत्तिएका साथीहरू भेरीमा हामफाले ।’

सोती पुगेका १८ जनामध्ये ११ जना खोलामा हामफालेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्म विष्टले बताउनुभयो । ‘पाँच जना पारि पुगे । ६ जना खोलामै हराए । हराएकामध्ये तीन जनाको शव भेटिएको छ भने तीन जनाको अवस्था अज्ञात छ । सात जना भने खोलामा नपसी लुकेका थिए,’ विष्टले भन्नुभयो । 

किनारमा भेटिए तीन शव

नवराजको शव शनिबार राति नै भेरी किनारमा भेटिएको थियो । आइतबार उनीसँगै गएका चौरजहारी नगरपालिका वडा नम्बर १ का २० वर्षीय टीकाराम विकको शव भेटियो । घटनास्थलबाट करिब २५ किलोमिटर तल जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १२ को खोदा खोलानजिक उहाँको शव भेटिएको हो । 

सोमबार भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय गणेश बुढाको पनि शव भेटिएपछि ज्यान गुमाउने सङ्ख्या ३ पुगेको छ । गणेशको शव पनि टीकारामको शवनजिकै भेटिएको थियो । तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट लगिएपनि मङ्गलबार बिहानसम्म पोष्टमार्टम भएको छैन । 

३ जना अझै बेपत्ता

चौरजहारी प्रहरीका अनुसार सोती गएका भनिएकामध्ये ३ जना अझै बेपत्ता छन् । भेरी नगरपालिका वडा नम्बर ११ का १८ वर्षीय लोकेन्द्र सुनार र सञ्जु विक तथा १७ वर्षीय गोविन्द शाही अझै बेपत्ता छन् । जाजरकोट र रुकुम प्रहरीले बेपत्ताहरुको खोजी तीव्र पारिएको जनाएका छन् । 

तर बेपत्ताका आफन्तले खोजी कार्यमा प्रहरीको सक्रियता कम भएको र आफूहरुले रातदिन खोज्नु परेको गुनासो गरेका छन् । अस्पताल लैजाने क्रममा गणेश बुढाको शवलाई सोमबार बेलुका पुल मटेलामा गणेशका आफन्तहरुले बाटो अवरोध गरेका थिए । विक्षिप्त बनेका आफन्तहरुले भेरीमा दिनरात खोजी कार्य गरेको तर प्रहरीले शव उठाउन मात्रै आएको आरोप लगाएका छन् । 

आक्रमण नगरेको दाबी

गाउँकी युवती लिन आएका युवाहरूसँग सम्वाद गर्नुपर्नेमा गाउँलेहरुलाई उक्साएर ढुङ्गामुढा गराइएको आरोप छ । तर सोती गाउँका स्थानीयले आफूहरूले आक्रमण नगरेको दाबी गरेका छन् । लकडाउनमा ठूलो समूहमा अपरिचित युवा आएको देखेपछि बुझ्न खोज्दा वादविवाद भएको र उनीहरूको भागाभाग भएको स्थानीयले बताएका छन् । 

वडा अध्यक्ष डम्बरबहादुर मल्लले आफू वडाको क्वरेण्टीन व्यवस्थापनमा लागिरहेको वेला गाउँमा धेरै युवा आएको खबर पाएपछि बुझ्न जाँदै गर्दा भागाभागको अवस्था देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केटा र केटीको प्रेम सम्बन्ध होला ।  हाम्रै गाउँमा अन्तरजातीय विवाहका उदाहरण छन् । कहीँकतै बेमेल छैन । यस घटनामा जातीयताको कुरा जोडिएको छैन ।’ गाउँमा बाहिरबाट युवाहरु आएको र झडप भएको भन्दै वडाध्यक्ष मल्लले प्रहरीलाई फोन गरेपछि साँझ साढे ६ बजे घटनास्थलमा प्रहरी पुगेको थियो । 

केटीका बुवाआमा पक्राउ

घटनामा संलग्न चौरजहारी नगरपालिका वडा नम्बर – ८ का वडाध्यक्ष मल्लसहित १२ जनालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले केहीलाई आइतबार र केहीलाई सोमबार नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक विष्टका अनुसार वडाध्यक्ष र केटीका बुवाआमासहित १२ जनालाई नियन्त्रणमा लिइएको छ ।  

पक्राउ परेकाहरुलाई सोमबार राति जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पुर्याइएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक कविराज रोकायले जनाउनुभयो । प्रहरीले अनुसन्धान सुरु गरेको भन्दै दोषीलाई कानुनबमोजिम कारबाही हुनेमा शङ्का नराख्न उहाँले आग्रह गर्नुभयो ।  

पहुँचको आधारमा घटनालाई तोडमोड गर्न खोजिएको भन्दै पीडित पक्षले निष्पक्ष छानबिनको माग गरेको छ । अधिकारकर्मीहरुले पनि घटनाको निन्दा गर्दै सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न जोडदार माग गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Rajesh khadka

    May 27, 2020, 8:13 a.m.

    मलाई लाग्छ आफ्नो हैसितभन्दा माथि उठ्नु व्यर्थ हो ।। दलित क्षत्री ब्राह्मण अन्य जस्ता कित जातिय आधारमा छुट्याउनु नै भएन सबैलाई समान हुनु पर्छ ।। एदी छुट्याई हाले भेदभाव पनि मन्नुनै पर्छ ।। जो भेदभाव मान्दैन उसले आफ्नो छोरी बैनीलाई आफ्नै हातले जुनसुकै जात को होस् कन्यादान गरेर देखाउनु पर्यो ।। हाम्रो धर्म र परम्परा मा पक्कै भेदभाव छ र मान्छौं पनि ।।आफू पनि गर्दैनौ अरूले गरे छोड्दैनौं ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया