गण्डकी प्रदेशका सबै जिल्लामा रङ्गशाला बनाइने

 जेठ १९, २०७७ सोमबार २०:५५:५७ | रासस
unn.prixa.net

कास्की – सङ्घीय सरकारसँगको सहकार्यमा गण्डकी प्रदेश सरकारले  प्रदेशका ११ वटै जिल्लामा एक/एक वटा रङ्गशाला बनाउने भएको छ । 

प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेश सभामा सरकारको आगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  रङ्गशाला निर्माण गर्ने नीति लिइने जानकारी दिनुभयो । 

सरकारले प्रदेशमा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्ने भएको छ । आउँदो फागुनमा प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय यसअघि नै गरिएको छ । 

यसअघि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ को बजेटका सिद्धान्त तथा प्राथमिकता सदनमा प्रस्तुत गर्दै आउँदो वर्ष पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिने बताउनुभएको थियो । सरकारले पालिकासँगको सहकार्यमा एक पालिका एक खेलकुद मैदान कार्यक्रमलाई आवश्यकता अनुसार निरन्तरता दिइने जनाएको छ । 

नीति तथा कार्यक्रममा प्रदेशमा खेलकुदको संस्थागत विकास गर्न आवश्यक कानुन तर्जुमा गर्ने, नेपाल सरकारसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय रङ्गशाला, उच्च हवाई खेलकुद तालिम केन्द्र र क्रिकेट रङ्गशालालगायतका खेलकुद पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिने उल्लेख छ । 

सरकारले चालू वर्षमा पालिकासँगको सहकार्यमा २२ गाउँपालिका र पाँच नगरपालिकामा खेल मैदान र स्थानीयस्तरको रङ्गशाला निर्माण कार्य अघि बढाइएको जनाएको छ । 

नेपालमा आयोजना गरिएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतका आठ वटा खेल प्रदेश राजधानी पोखरामा सफलतापूर्वक सम्पन्न भएको र त्याे प्रतियोगितामा पदक विजेता यस प्रदेशका खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।  

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया