हतियार र लागुऔषधसहित दुई जना पक्राउ

 जेठ १९, २०७७ सोमबार १९:५८:३५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रदेश प्रहरी कार्यालय जनकपुरधामले लागुऔषध र हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।  

प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी महोत्तरी लोहारपट्टी नगरपालिका ८ का २० वर्षीय डिके भनिने आजेजुल राईन र सर्लाही मलङ्गवा नगरपालिका १ का जितेन्द्रकुमार रामलाई सार्वजनिक गरेको हो ।

राईनलाई पेस्तोलसहित र रामलाई लागुऔषधसहित पक्राउ गरी अनुसन्धानको क्रममा राखिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । जनकपुर उपमहानगरपालिका १७ बनौलीको रामलोचन पासवानको आँपको बगैँचाबाट पक्राउ परेका राईनको साथबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल, तीन थान म्यागजिन र पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली बरामद गरेको प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै भारतबाट नेपालतर्फ आइरहेको समयमा सर्लाही प्रहरीले शङ्काको आधारमा जाँच गर्दा रामको साथबाट लागुऔषध वालरेक्स १०० नामक ५० थान बरामद भएको प्रहरी उपरीक्षक सापकोटाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया