कपिलवस्तुका सञ्चारकर्मीसहित १५० जनाको काेराेना रिपोर्ट नेगेटिभ

 जेठ २१, २०७७ बुधबार १९:३८:५७ | रासस
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा स्वाब सङ्कलन गरिएका एक सय ५० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

दुई जनाको भने रिपोर्ट पोजेटिभ आएको छ । यही जेठ १४ गते स्वाब सङ्कलन गरिएकाहरुको रिपोर्ट झण्डै एक हप्तापछि आज सार्वजनिक गरिएको हो । दुई दिनअघि वडा नम्बर ११ का दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरुको अहिले भैरहवामा उपचार भइरहेको छ । 

वाणगङ्गाका एक जनप्रतिनिधि र दुई पत्रकार सङ्क्रमित भएपछि कन्ट्याक ट्रेसिङकाे आधारमा सिद्धार्थ क्याम्पसमा स्वाब सङ्कलन गरिएकोमध्ये दुईबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख ठगप्रसाद पौडेलले बताउनुभयो ।

स्वाब सङ्कलन गरिएकामध्ये  सञ्चारकर्मी १७,  जनप्रतिनिधि १३, नगरका कर्मचारी २८,  सुरक्षाकर्मी दुई, क्वरेण्टीनमा रहेका १५ र समुदायका ७५ गरी एक सय ५० जनाको स्वाब सङ्कलन भएको थियो । कपिलवस्तुको सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो टेलिभिजनका दुई सञ्चारकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्टेशन भवनलाई क्वरेण्टीन बनाएर आठ सञ्चारकर्मी बसेका थिए । 

त्यहाँ कार्यरत नौ कर्मचारी होम क्वरेण्टीनमा बसेका थिए । सबैको रिपोर्ट नेगेटिभ आएपछि १२ दिनदेखि क्वरेण्टीनमा बसेका सञ्चारकर्मीलाई आज बिदा गरिएको छ । 

१२ दिनसम्म सञ्चार गृहको क्वरेण्टीनमा बसेर जनतालाई सुसूचित गर्ने काममा खटिएका समाचार शाखा र प्राविधिक शाखाका सञ्चारकर्मीलाई व्यवस्थापक भेषराज पाण्डेले धन्यवाद ज्ञापन गर्दै सबैको नेगेटिभ नतिजा आएकाेमा खुसी व्यक्त गर्नुभयो । अहिलेसम्म देशभर १८  सञ्चारकर्मीमा सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया