नेपालमा भ्रष्टाचार र गरिबी

 जेठ २२, २०७७ बिहिबार २०:३७:३५ | रमेश भण्डारी
unn.prixa.net

कमिसन, घुस, अपारदर्शिता, अनाधिकृत आम्दानी, असुली, नीतिगत फटाइँ र असान्दर्भिक काम आदि । यस्तै भ्रष्ट आचारका काम अर्थात् भयङ्कर बदनामी तथा जरिवाना र जेलवाससम्म हुने अपराध । गर्नुपर्ने काम नगरेर वा गर्न नहुने काम गरेर भ्रष्टाचार भइरहेकै छ । हाम्रोमा जे काम गर्दा पनि भ्रष्टाचार हुने गरेको समाचार सुन्ने गरिएको छ । 

सबैले किन विरोध गर्छन् ? अनि भेटेजति सबैले किन भ्रष्टाचार गर्छन् ? भ्रष्टाचारकै विरोधमा आन्दोलन भएर देशमा विभिन्न राजनीतिक परिवर्तन पनि भए । अहिलेपनि मूल राजनीतिक विषय र विचारभन्दा भ्रष्टाचारको मुद्दा नै हाबी छ । जनताले सधैँभरि साथ दिएकै छन् । तरपनि भ्रष्टाचारमा कुनै कमी हुँदैन । अहिले मन्त्रालयलगायत सरकारी कार्यालयका  मूलद्वारमा लेखेर टाँसिएको छ, ‘म भ्रष्टाचार गर्दिनँ, गर्नपनि दिन्नँ ।’ तर भ्रष्टाचार भइरहेकै छ । 

भ्रष्टाचार हुन नदिन सरकार छ । कर्मचारी छन् । सिबिआई छ । सतर्कता केन्द्र छ । यतिले नपुगेर संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि छ । तर पनि भ्रष्टाचारमा खोइ कमी आएको ? नेताले विरोध गरेका छन् । कर्मचारीले पनि विरोध गरेका छन् । भाषण गर्छन् । मिडियामा आउँछ । अनि देशमा कसले गरिराखेको छ भ्रष्टाचार ? को हो त्यो अमुक शक्ति जसलाई समाउन सकिँदैन ? कसले समाजलाई मुट्ठीमा लिएको छ ? 

नेपालमा भ्रष्टाचार गर्नेले गरिरहेका छन् । दिनहुँ समाचार आइरहेका छन् । यो तीतो यथार्थलाई बुझेरै होला, सरकारले भ्रष्टाचार र राजस्व चुहावट कम गर्न केही फरक तरिका अपनाएको देखिन्छ । तैपनि पाइलैपिच्छे भ्रष्टाचार भएका समाचार आइरहेका छन् । 

भ्रष्टाचार र गरिबीको सम्बन्ध

भ्रष्टाचारले समाज विकासका विभिन्न पक्षमा असर गर्ने गरेको छ । यसले समाजमा आर्थिक खाडल बढाउँछ । बिना मिहिनेत आम्दानी हुनेको रहनसहन, विकृत सोचाइ, अनावश्यक खर्च र तडकभडकले समाजका सबै तहमा नकारात्मक असर पार्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । 

भ्रष्टाचारका दुई पक्षमध्ये पहिलो पक्ष भनेको आर्थिक क्रियाकलाप र असमान आम्दानी हुनाले समाजमा पैसा कमाउने उपायमा विकृत मानसिकताको जन्म हुन्छ । रातारात अनाधिकृत रुपमा पैसा आउनु र त्यसबाट हुने बिचलनले त्यस्ता मानिसले समााजप्रति गर्ने व्यवहार र काम गर्ने तौरतरिकाले दूषित वातावरण पैदा गर्दछ । यसको अर्को पक्ष, भ्रष्टचारले सुशासन क्षमतामा कमी आउँछ । कार्यसम्पादनमा ढिलासुस्ती र नैराश्यता बढ्न गएर गरिबी बढ्छ । यसरी हेर्दा भ्रष्टाचार र गरिबीको सम्बन्ध गहिरो छ । यसलाई दुई पक्षबाट विश्लेषण गर्न सकिन्छ । पहिलो, आर्थिक क्रियाकलाप, जसले असमान आम्दानी हुने गरी समाजमा स्थापित मूल्य मान्यतालाई विचलित बनाउँछ । यसरी पनि समाजमा गरिबी बढ्छ । 

त्यसैगरी सुशासन दोस्रो पक्ष हो, जसले काम गर्ने संयन्त्रलाई धुजा धुजा पारी कार्यदक्षतामा क्षयीकरण गरेर गरिबी बढाउँछ । भ्रष्टाचारले हुने अर्को नकारात्मक असर भनेको दाता राष्ट्रबाट आउने सहयोगमा कमी हुनु हो । बेरोजगारी बढ्नु, सुसंस्कृत समाजको निर्माणमा बाधक हुनु, जनतामा निराशा र नकारात्मक भावनाको विकास तथा विश्वासको अभावजस्ता पक्ष पनि देशमा देखिएका छन् । 

भ्रष्टाचार घटाउने कसरी ?

नेपालीको नियति र भ्रष्टाचारको जरो गहिरोे देखिन्छ । भ्रष्टाचारीलाई कारबाही गर्यो भने सबै पालिका खाली हुन्छन् भन्ने अभिव्यक्ति मन्त्रीहरुबाट आउनुलाई देशमा भ्रष्टाचारको संस्कृति मौलाएर गएको छ भन्ने निष्कर्षको रुपमा लिन सकिन्छ । सबै तह तप्काका मानिसलाई अवैधानिक कमाइ गर्न कुनै अप्ठ्यारो लाग्दैन । तल्लो तहमा सानो काम गर्ने उपभोक्ता समिति पनि अवैधानिक नाफा गर्नेदेखि जो जसका हातमा रकम आइपुग्यो उसैले कुनै न कुनै बहानामा रकम असुल्ने संस्कृतिको विकास भएको देखिन्छ । यी सबै अवैधानिक रुपमा रकम असुल्ने क्रियाकलाप ‘ओपन सेक्रेट’ भइसकेका छन् ।

नेपालमा भ्रष्टाचार न्यूनीकरण नगरी गरिबी निवारण र देशको विकास नहुने अवस्था देखिन्छ । भ्रष्टाचार न्यूनीकरण कसरी गर्ने ? कुनै निर्विकल्प उपाय भने देखिँदैन । अरु देशको उदाहरण हेर्दा नेपालमै त्यो सिद्धान्त लागु नहुन सक्छ । तर पनि सरकारले गरिबी निवारण गर्ने, आर्थिक वृद्धि गर्ने र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य राखेको छ । तर भ्रष्टाचार न्यूनीकरण नगरी त्यो सम्भव छैन । भ्रष्टाचार नियन्त्रण कसरी गर्ने भन्ने मुख्य चुनौती हो । 

नेपालमा भ्रष्टाचारसँगै गरिबीको अर्को पाटो हेरौँ । उदाहरणको लागि केही नतिजा हेरौँ । अति गरिब देश नेपाल, जग्गाको मूल्य अधिक हुनु, बिलासी भवन र विलासिताका सामग्रीको प्रयोग, वार्षिक व्यापार घाटा, रहनसहन र परम्परा, पैसाको चलखेल र व्यापार, सामाजिक तथा सांकृतिक पक्ष र नेपालको गरिबी । यी पक्षलाई केलाएर कानुनी दायरामा ल्याई अनुगमन प्रणाली व्यवस्थापन गर्ने हो भने भ्रष्टाचारमा कमी आउन सक्छ ।

भ्रष्टाचार घटाउन भ्रष्टाचारीलाई बढी सजाय हुने, निश्चित रकमभन्दा बढीको खरिदमा आम्दानीको स्रोत अनिवार्य खुलाउनुपर्ने र नगद कारोबार गर्न नपाउने र आम्दानीको स्रोतको नियमित अनुगमन, आम्दानीअनुसारको तिर्नुपर्ने कर र कर तिरेअनुसारको आम्दानीका आधारमा लगानीजस्ता कुरालाई कानुनद्वारा नियमन गरेर भ्रष्टाचार कम गर्न सकिन्छ । 

अन्तिम अपडेट: असार १३, २०७७

1 Comments

  • निरज निरौला

    June 6, 2020, 6:08 a.m.

    नेपालमा भ्रष्टचार गर्न नेता हरु मात्र तल्लिन छैन यहाँ त कर्मचारि कर्मचारि हरु भ्रष्टचारी छन स्थानिय निकाय मा नै स्थानिय निकाय मै भ्रष्टचारि हरु छन । अनि ठाउँ पाउँदा यहाँ जनता नै यसरी भ्रष्टचार गर्छन अनि कहाँ बन्छ देश? कर्मचारि भन्नू नै जनता हुन अनि त्यहि जनता हरु नै मै खाउ मै लाँउ सुख सयल मै गरुम भनेर भ्रष्टचार गर्नमा तल्लिन देखिन्छ । नेपालमा कोहि भन्दा कोहि कम छैनन । राजनैतिक नेता देखि लिएर राष्ट्र को कर्मचारि र हरेक नेपाली जनता हरु सुध्रिन आवश्यक छ नेपालमा उनी हरु ले जब सम्म देश बाट मलाइ के फाईदा भयो ? भन्ने सोच हरेक कर्मचारि र जनता र नेता मा जब सम्म बसि रहन्छ तब सम्म देश भ्रष्टचारमा चुर्लुम्म डुबिरहने छ । जब नेपाली जनता , कर्मचारि र नेताहरुमा मैले देशका लागि के योगदान दिए भन्ने सोच् आउँछ तब मात्र हाम्रो देश ले भ्रष्टचार बाट मुहार फेर्नेछ । अनि मात्र देश बिकशित र समृद्ध हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया