कोरोना सम्बन्धी सूचना अफवाहको महामारीबाट बच्ने पाँच उपाय

 जेठ २३, २०७७ शुक्रबार १४:५७:१ | गोपाल गुरागाईं
unn.prixa.net

काठमाण्डाै - कोरोनाको महामारीले भन्दा अहिले सूचनाको महामारीले संसार हल्लाएको छ । सामाजिक सञ्जालमा आउने अनेक खालका सूचना, विश्लेषण र स्टाटसमा आँखा चिम्लेर विश्वास गर्नेहरु सूचनाको महामारीबाट सबैभन्दा बढी पीडित छन् ।

त्यसैले अहिले संसारका कतिपय संस्थाहरु सूचनाको महामारीलाई रोक्ने उपायहरुको खोजीमा छन् । सही र गलत सूचना छुट्याउने तरिकाहरु थाहा पाएर धेरै मानिसले सूचनाको अफवाह रोकेका पनि छन् । अलिकति शंका र अलिकति जाँचबुझ गर्ने हो भने गलत र सही सूचना सजिलै छुट्याउन सकिन्छ ।


१. सूचना पाउनासाथ शेयर नगर्ने 

फेसबुक, ह्वाट एप्स, युट्युव, ट्वीटर जस्ता सामाजिक सञ्जालमा आएका सूचनाका शीर्षक हेरेर त्यहाँ के लेखिएको छ वा भनिएको छ, विचारै नगरी धेरै मानिसले ती सूचना प्रोफाईल, पेज वा ग्रुपमा शेयर गर्छन् । तपाईँलाई पनि शीर्षक हेरर हतार हतार शेयर गर्ने बानी परेको छ भने अब पूरै नपढी, नहेरी वा नसुनिकन शेयर गर्न छाडि दिनुहोस् । किनकि तपाईँले शेयर गरेको सूचना गलत हुनसक्छ र यस्ता सूचनाबाट सबैभन्दा पहिले तपाईँका फ्यान, फलोवर र समूहका साथीहरु गलत सूचनाको सिकार हुन्छन् । त्यसैले, यस्तो सूचना जहाँबाट पाए पनि शेयर गर्नुअघि एकछिन रोकिनुहोस् र अलिकति शंकालु भएर सोच्नुहोस् के यो सूचना साँचो हो ? अलिकति पनि शंका लाग्यो भने शेयर नगर्नोस् । पत्रकारितामा एउटा वाक्य छ, ‘ह्वेन ईन डाउट, लिभ ईट आउट’ । गलत सूचना फैलिन नदिने यो पहिलो प्रभावकारी उपाय हो । 


२. सूचनाको स्रोत विश्लेषण गर्ने

सूचना पत्याउन सकिने भए पनि, नभए पनि त्यो सूचनाको स्रोत के हो भन्ने पत्ता लगाउन कोशिस गर्नुपर्छ । फेसबुक, ह्वाट एप्स, भाइवर वा युट्युव जस्ता सामाजिक सञ्जालमा राखिएका सामग्री कुन संचार माध्यम (रेडियो, टेलिभिजन, पत्रपत्रिका) अथवा कुन अनलाइन पोर्टलले छापेको हो ? यो सामग्री छाप्ने संचार माध्यम वा अनलाइन कति विश्वसनीय हो ? सूचना सामग्री कुन व्यक्तिले तयार पारेको हो ? यसरी तयार पारेको सामग्री कति जनासित सोधखोज गरेर तयार पारिएको हो ? लेख्ने वा सामग्री तयार पार्ने व्यक्ति कति विश्वासिलो हो ? अनि प्रकाशन वा प्रकाशन गर्ने संचार माध्यम कति विश्वसनीय हो ? सामग्री तयार पार्ने व्यक्ति वा संस्थाले विगतमा अफवाह फैलाएको पो छ कि ? जस्ता प्रश्नका आधारमा विश्वसनीयताको विश्लेषण गर्नुहोस् । यति विश्लेषण गर्दा तपाईँले पाएको सूचना तयार गर्ने व्यक्ति र प्रकाशन प्रसारण गर्ने संस्था विश्वसनीय लागे मात्र अरुलाई शेयर गर्नुपर्छ । 


३. झिलिक मिलिकमा नअल्मलिने 

मनमा कुतकुति लाउने, पढ्दा हाँसो लाग्ने अथवा अचम्मका शीर्षक राखेका समाचार र सूचनामा धेरैको आँखा गै हाल्छ । तर यस्तो खसखस मेट्न मुल साईट खोल्दा शुरुकै फोटो वा भिडिओमा झल्याक र झुलुक हुन थाल्यो भने अलिकति शंका गर्नुपर्छ । त्यसको शीर्षकमै अबश्य शेयर गर्नुहोला भनेर लेखिएको छ भने थप शंका गर्नुपर्छ । साईटमा भिडिओ, फोटो तथा रंगीचंगी अक्षरको चमकधमक छ भने, अनि कुनै अक्षर क्यापिटल र कुनै स्मल फण्टमा लेखेका छन् भने त्यो भ्रम र अफवाहलाई मलजल गर्ने साइट हुन सक्छ । यस्ता साईट खोल्दा एकैपल्ट जानकारी आएन, मुख्य कुराका लागि यहाँ क्लिक गर्नोस् र त्यहाँ क्लिक गर्नुहोस् भनेर लेखिएको छ भने त्यहाँबाट भ्रम र झुट सूचनाको खेती भैरहेको छ भनेर बुझ्नु पर्छ ।


४. अरुको हवाला दिएर पठाएका सूचनाहरु 

हिजोआज डाक्टरले फलानालाई भनेको, मेरो साथीलाई फलानोको साथीले भनेको, युरोप र अमेरिकामा काम गर्ने नेपाली नर्स, डाक्टर वा आफन्तले उनीहरुका आफन्तलाई पठाएको भनेर कोरोनाको सङ्क्रमण रोक्ने अनेक सल्लाह सहितका सूचनाहरु मेसेन्जर, भाइवर, ह्वाट एप्समा शेयर भैरहेका छन् । यसरी शेयर गरिएका केही खबर सत्य जस्तै लाग्छन्, तर सत्य हुँदैनन् । गलत सूचनालाई सही हो भन्ने भ्रम फैलाउन कतिपय मानिसले साथीको साथी, आफन्त, डाक्टर वा नर्सको हवाला दिएर यस्ता खबर भाइरल बनाउँछन् । तपाईंलाई सूचना पठाउने मानिस पनि यस्ता भ्रम फैलाउने मानिसबाट बहकिएको हुन सक्छ । त्यसैले नजिकको आफन्त र साथीले नै पठाएको भए पनि यस्ता सूचनामा विश्वास गर्नु हुँदैन ।  


५. संवेग र आत्मालापबाट बच्ने  

कतिपय सूचना वा समाचार मनमा त्रास र भय बढाउने उद्देश्यले तयार गरिन्छन् र शेयर गरिन्छन् । अरुको मनमा त्रास उत्पन्न गरेर मानवीय संवेदनालाई उत्तेजित पारी भयको व्यापार गर्ने यस्ता सूचना प्रवाह गरिन्छन् । यस्ता सूचनाहरु आगो झैं फैलिन्छन् र लाखाैं मान्छेको मन त्रस्त हुन्छ । त्यसैले मनमा त्रास उत्पन्न हुने सूचना पाए पनि तथ्यका आधारमा विश्लेषण गर्नु आवश्यक छ । त्रास उत्पन्न गर्ने अधिकांश सूचना अफवाह फैलाउने नियतकासाथ प्रवाह गरिएको हुन्छ भन्ने बुझ्नुपर्छ । 
अनि कतिपय सूचनाप्रति मानिसको आफ्नै आग्रह हुन्छ । अथवा तपाईंको मनमा जे लागेको थियो, त्यस्तै सूचना वा समाचार आयो भने आफूले सोचेको ठीक रहेछ भनेर तपाईँको मन ढुक्क हुन्छ, तर आग्रह मिसिएको सूचना पनि सत्य हुँदैन भन्ने कुरा बेलैमा बुझ्नुपर्छ ।  

कोरोना महामारीका विषयमा दुई महिनाअघि नेपालमा धेरै विज्ञले समेत भन्थे “कोरोनाले कसैलाई छुँदैन” । यो सुन्दा र पढ्दा हामी धेरैको मन ढुक्क हुन्थ्यो । नेपाली कोरोनाले मर्दैन भन्दा त हाम्रो मन झनै फुरुंग हुन्थ्यो । तर, हाम्रो मनले आफू ढुक्क हुन विश्वास गरेको कुरा कति ठीक रहेछ त भनेर अहिले विश्लेषण गर्दा त्यो मनको लड्डु मात्र रहेछ भन्ने कुरा पुष्टि भैसकेको छ । त्यसैले आफ्नो मनले मानेका तर तथ्य नभएका खबर पनि पत्याउन लायक हुँदैनन् ।  

कोरोना क्याप्सुलमा सुन्नुहोस् गलत सूचनाको महामारी फैलिन नदिने ५ उपायहरु 
क्याप्सुलको अडियो लिंक 

वा,

अन्तिम अपडेट: असार १३, २०७७

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया