बाजुरा : बुढिगंगा नगरपालिकाले पीसीआर मेसीन किन्ने

 जेठ २७, २०७७ मंगलबार ११:२:१७ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले कोरोनाको पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ । 

पीसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको हाे ।

मेसीन किनेर जिल्ला अस्पताल बाजुरासँग समन्वय गरेर अस्पताललाइ सहयोग गर्ने निर्णय भएको छ । कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको कुरा नगरपालिकाका मेयर दिपकविक्रम शाहले जानकारी दिनुभयो । 

बैठकले पीसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा अछामस्थित बयालगडा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको मेयर शाहले बताउनुभयो ।

यस्तै कोरोनाको उपचारार्थ खटिएका स्वास्थ्यकर्मीको ज्यान गएमा १० लाख क्षतिपूर्ति र सन्तानलाई कक्षा १२ सम्म निशुल्क पढाइको व्यवस्थापन गर्ने निर्णय भएको छ । यस्तै आरडीटी परीक्षणबाट पोजेटिभ देखिएकाहरुलाई बडिमालिका क्याम्पस फालासैनमा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

नगरपालिका भित्रका सबै क्वरेन्टीनबाट पोजेटिभ देखिएकाहरु राख्नका लागि क्याम्पसलाई उपचार सुविधा र सुरक्षित व्यवस्थासहितको क्वरेन्टीनका रुपमा सञ्चालन गर्ने र टाँटे स्वास्थ्य चौकीमा आइसोलेशन कक्ष सञ्चालन गर्ने निर्णय गरिएको छ ।

नगर कार्यापालिकाको बैठममा नगरप्रमुख शाह, उपप्रमुख तारा खाती, प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, कार्यपालिका सदस्य र वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । पीसीआर मेसिन खरिदका लागि निर्णय गर्ने बुढीगंगा पहिलो नगरपालिका हो ।

अन्तिम अपडेट: चैत २५, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया