सोती घटना : फरार २ आरोपीसहित थप ३ जना पक्राउ

 जेठ २९, २०७७ बिहिबार ११:४८:५७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – गएको जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका फरार दुई आरोपीसहित थप तीन जना पक्राउ परेका छन् । योसँगै घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेको सङ्ख्या २८ पुगेको छ ।

चौरजहारी ८ निवासी १९ वर्षीय घमण्ड मल्ल, १९ वर्षीय विष्णु मल्ल र २६ वर्षीय सर्वजित भनिने सविन पुनलाई बुधबार राति पक्राउ गरिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । पीडित परिवारले दिएको किटानी जाहेरीमा रहेका २० जनामध्ये घमण्ड र विष्णु यसअघि फरार रहेका थिए भने सविनलाई थप अनुसन्धानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिनुभयो । 

जाहेरी भित्रका १८ जना र अनुसन्धानबाट खुलेका थप सात जना गरी २५ जनालाई यसअघि नै रुकुम पश्चिम प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ । पछिल्लो पटक पक्राउ परेका तीन जनालाई आजै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रियाअघि बढाइने प्रहरीले जनाएको छ ।  

चौरजहारी नगरपालिका ८ को सोतीकी १७ वर्षीया एक मल्ल थरकी किशोरीका प्रेमीसहित जाजरकोटबाट आएका युवा स्थानीयको आक्रमणमा परेका थिए । जसमा ६ जनाको ज्यान गएको छ । किशोरीका प्रेमी भनिएका जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित अन्य पाँच जनाको शव भेरी नदीमा भेटिएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया