कोरोना महामारीमा जैविक खेतीका सम्भावना र चुनौतीहरु

 जेठ २९, २०७७ बिहिबार १३:७:३८ | शिल्पा देवकोटा
unn.prixa.net

कावासोती, नवलपुर - लामो समयदेखि बढ्दो सहरीकरण, बजारीकरण, औद्योगीकरण र जनसङ्ख्या वृद्धि अनि चर्को खाद्य मागलाई पूरा गर्न आधुनिक खेतीले जरा गाड्दै गएको छ । आधुनिक खेती पद्धतिमा अपनाइने क्रियाकलापले वातावरण,  मानव स्वास्थ्य र भविष्यमा बिस्तारै पार्न सक्ने असरलाई नकार्दै उत्पादन वृद्धिप्रति हामी बढी आकर्षित भएका छौँ । हुन त यस विषयमा चासो नै नभएको होइन । यसका असरलाई कम गर्दै खाद्य मागलाई सुनिश्चित गर्न विभिन्न उपाय वा विधि छन्, जसमध्ये एक हो जैविक खेती ।

के हो जैविक खेती ?

परापूर्वकालीन खेती प्रणाली, नयाँ प्रविधि र सोचलाई एकीकृत गर्दै उपलब्ध स्रोत र साधनको सही ढङ्गबाट परिचालन गरी पर्यावरण, माटोको उर्वरा शक्ति, मानव स्वास्थ्य र आवश्यक खाद्य मागलाई पूरा गर्ने हेतुले विकास गरिएको प्रणाली हो जैविक खेती । यसका चार मुख्य सैद्धान्तिक पक्ष छन् - पर्यावरण, स्वास्थ्य, हेरचाह र निष्पक्षता ।

अधिक मात्रामा रासायनिक मल, विषादी, हाइब्रिड बीउबिजन, ऊर्जाको असीमित उपभोग, माटोको विभेदपूर्ण प्रयोगले निम्तिएका अनेकौँ समस्याले उब्जिएको जैविक खेतीको सोच अहिले नेपालमा पनि फस्टाउँदैछ । नेपालले केही वर्षयता यस खेतीलाई राम्रो विस्तार गर्दै आएको थियो । तर कोरोना महामारीको कारण देश लकडाउनमा रहिरहँदा र यसले कृषि उत्पादनमा पारेको प्रभावलाई ध्यानमा राख्दा अबका दिनमा जैविक खेतीलाई बढावा दिन उचित होला कि नहोला भन्ने प्रश्न अवश्य सिर्जना हुन्छ । 

जैविक खेती - उचित विकल्प

यसरी देश लामो समयदेखि लकडाउनमा रहिरहँदा देशमा आयात ७ दशमलव ५ प्रतिशतले घटेको छ । कृषि उत्पादनमा आवश्यक वस्तुजस्तै बीउबिजन, मलजल, कृषि किट, औजार, विषादी र अन्य वस्तुको अभाव हामी देखिरहेका छौँ । यस्तो अवस्थामा जैविक खेती एक उचित विकल्प हुन सक्छ ।

आफूलाई प्रश्न गरी हेरौँ । हामीले बिहान बेलुका खाने खाद्यवस्तु कहाँ उत्पादित हुन्छ ? कसले उत्पादन गर्छ ? कसरी उत्पादन गरिन्छ ? के हाम्रा खाद्यवस्तु स्वच्छ, ताजा अनि पोषणयुक्त छन् ? विषादीरहित छ कि छैन ? जवाफमा मौनता वा नकारात्मक उत्तर आउँछ । यी प्रश्नसँग हामी कमै मात्र परिचित छौँ । हामीलाई बिहान बेलुका के खाने भन्ने मात्र चिन्ता छ । तर हामीले खाइरहेका खाद्यान्नले हाम्रो स्वास्थ्यमा पार्ने असरबारे हामी खासै चासो राख्दैनौँ ।

स्वस्थ र पोषणयुक्त उत्पादन

जैविक खेती यस्तो खेती प्रणाली हो जहाँ रासायनिक मल, विषादी, हर्मोन, भिटामिन, एन्टिबायोटिक्स र जीयमओजस्ता कुराको प्रयोगमा प्रतिबन्ध लगाएर उपलब्ध स्रोतजस्तै हरियो मल, कम्पोष्ट, बालीचक्र, जैविक मल र जैविक विषाक्त (विषादी)को प्रयोग गरी ताजा, स्वस्थ र पोषणयुक्त कृषि उत्पादनमा जोड दिइन्छ ।

हाम्रो कृषि प्रधान देश हो । यहाँका करिब ६० दशमलव ४ प्रतिशत मानिस कृषिमा संलग्न छन् । हामीसँग अझै पनि खेतीपातीका लागि आवश्यक जग्गा जमीन छन् । चाहने हो भने जैविक खेतीको सिद्धान्तमा आधारित रहेर कृषि उत्पादनलाई बढावा दिन सक्छौँ । गाउँघरमा उपलब्ध रैथाने बीउबिजनलाई प्रयोगमा ल्याउन सक्छौँ । फापर, कोदोजस्ता उपेक्षित बालीलाई बालीचक्रमा ल्याउन सक्छौँ । 

गाईवस्तुको मललाई राम्रोसँग कम्पोष्ट बनाएर उपभोग गर्न सक्छौँ । असुरो, निम, बकाइनाजस्ता बिरुवाको झोल, धुलो या अन्य तरिकाबाट किरा र रोगव्याधिलाई कम गर्न सक्छौँ । धान, गहुँ, मकैका डाठ, पराल, प्लास्टिकलाई छाप्रोको रुपमा प्रयोग गर्न सक्छौँ । जसले एकातिर झारपातको प्रकोपलाई कम गर्छ भने अर्कोतिर माटोको चिस्यानलाई जोगाएर राख्छ । यसरी सिचाइँको समस्यालाई कम गर्न सकिन्छ । सँगै झारपात मार्ने विषादीको प्रयोगलाई पनि निषेध गर्न सकिन्छ । 

कोसेबालीलाई अन्नबालीको रुपमा घुसाउँदा मुख्य बालीको पोषण मागलाई कम गर्न सकिन्छ । एकै खेत वा माटोबाट दुई वा दुईभन्दा बढी बालीको उब्जनी लिन सकिन्छ । जैविक खेतीमा विविधीकरण हुने हुँदा वातावरणीय सन्तुलनलाई यसले जोगाई राख्छ र प्रत्यक्ष वा अप्रत्यक्ष रुपले जलवायु परिवर्तन न्यूनीकरणमा टेवा पुर्याउँछ ।

वातावरणमैत्री खेती

कोरोना महामारीले वैदेशिक रोजगारीमा गएका करिब दश लाख नेपाली फर्किने अवस्थामा छ भने देशमा पहिलेदेखि लाखौँ युवा रोजगारीविहीन छन् । जैविक खेती आफैँमा धेरै श्रम लाग्ने खेती भएकोले ठूलो सङ्ख्यामा जनशक्तिको खाँचो पर्छ । तसर्थ यो खेतीले वैदेशिक रोजगारीबाट फर्किने र देशमै भएका नागरिकलाई रोजगारीको अवसर सिर्जना गर्न सक्छ । 

कोरोना महामारीसँगै व्यस्त जीवन शैलीमा रुमलिएका मानिस स्वास्थ्यप्रति चासो दिन थालेका छन् । स्वस्थ, विषादीरहित पोषणयुक्त खानालाई प्राथमिकतामा राखेका छन् र यसको माग बढ्दो छ । मानिस धेरै पैसा तिरेर भए पनि स्वच्छ खानेकुरा उपभोग गर्न चाहन्छन् । यस्तो अवस्थामा जैविक खेतीद्वारा उत्पादित उपजले राम्रो बजार भाउ पाउन सक्छ । त्यसैले यो कोरोना महामारीलाई वातावरणमैत्री खेतीको रुपमा चिनिएको जैविक खेती प्रणाली विस्तार गर्ने अवसरको रुपमा लिन सकिन्छ ।

जैविक खेतीका राम्रा पक्ष हुँदाहुँदै धेरै चुनौती पनि छन् । 

१) जैविक खेतीद्वारा उत्पादित वस्तुको प्रमाणीकरण अलि झन्झटिलो र समय खपत गर्ने हुँदा किसानले गाह्रो मान्ने गर्छन् ।
२) यस खेतीमा लागत ज्यादा हुने हुँदा किसानलाई लगानीमा समस्या हुन सक्छ ।
३) उत्पादन केही हदसम्म कम हुन सक्छ । भोलिका दिनमा खाद्य सुरक्षा सुनिश्चिततामा समस्या आउने हो कि भन्ने प्रश्न सिर्जना हुन सक्छ ।
४) देशमा अझै कम शिक्षित र गरीब मानिस छन् । उनीहरूले अझै पनि धेरै पैसा तिरेर  खाद्य उपभोग गर्न गार्हो मान्ने हुँदा बजारीकरणमा बाधा पुग्न सक्छ ।
५) अहिलेको बढ्दो मौसम परिवर्तनसँगै भित्रिएका नयाँ प्रजातिका किराको प्रकोपजस्तै टमाटरमा टुटाको प्रकोप, हालै मकैमा देखिएको अमेरिकन फौजी किराको प्रकोप र भोलिका दिनमा निम्तिन सक्ने विनाशकारी सलहको प्रकोप पनि देखिने हो कि भन्ने डरसँगै नयाँ रोगको आक्रमणले गर्दा जैविक विधिबाट मात्र व्यवस्थापन गर्न नसकिए उत्पादनमा ह्रास आउन सक्छ ।

अतः सरकारले जैविक खेतीमा बिमाको व्यवस्था, बजारीकरणको सुनिश्चितता, अनुदानको व्यवस्था, अनुसन्धान र खोजमा विस्तार, जनमानसमा जैविक खेतीको महत्त्व र वातावरणीय, स्वास्थ्य र भविष्यको दृष्टिकोणबाट हुन सक्ने फाइदाबारे जनचेतना कार्यक्रम, प्रमाणीकरणमा सहजीकरणजस्ता कदमलाई एकीकृत ढङ्गबाट लैजाने हो भने जैविक खेतीको विस्तारसँगै दीर्घकालीन कृषि विकासमा टेवा पुर्याउन सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

शिल्पा देवकोटा

देवकोटा कृषि विषयमा स्नातक अध्ययनरत हुनुहुन्छ ।

2 Comments

  • Lalit

    June 11, 2020, 5:18 p.m.

    Great content

  •  0 Reply
  • Sanjita Hamal

    June 11, 2020, 2:59 p.m.

    साह्रै राम्रो छ, यस्तै लेखिराख्नु

  •  1 Reply

तपाईको प्रतिक्रिया