गण्डकी प्रदेशमा २७ डेङ्गी सङ्क्रमित भेटिए

 जेठ २९, २०७७ बिहीबार १४:३:३७ | रासस
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगका बिरामी भेटिएका छन् । 

कोरोना भाइरसको जोखिमकाबीच डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो । अहिलेसम्म ती ६ जिल्लामा डेङ्गीका २७ बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । 

म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेङ्गी सङ्क्रमित भेटिएका छन् । म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेका बताइएकाे छ ।  

गण्डकीका पर्वतमा दुई तथा बाग्लुङ, तनहुँ र नवलपुरमा एक/एक जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हाे । निर्देशनालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले सबैभन्दा बढी डेङ्गी सङ्क्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजना अनुसार लामखुट्टेको सर्भे गरिएको बताउनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा ‘एडिस’ जातको लामखुट्टे भेटिएकाेले त्याे क्षेत्रलाई डेङ्गी रोगको जोखिमयुक्त क्षेत्रमा राखी रोग नियन्त्रणकाे गतिविधि सुरु गरिएको छ ।

कास्कीलगायतका अन्य जिल्लामा समेत स्वास्थ्य संस्थामार्फत डेङ्गी सङ्क्रमण फैलन नदिनकाे लागि ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रम सुरु गरिएको निर्देशनालयले जनाएको छ । 

डेङ्गी ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खालागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्दछ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आँखाका गेडी दुख्ने, बान्ता हुने, मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिरा देखापर्ने आदि लक्षण देखिन्छन् ।

त्यसैगरी स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो । यसको सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्नेलगायत जस्ता लक्षण देखिने भएकाेले यसबाट जोगिन घरबाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिने गरेका छन् ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया