'बनाऔँ कृषिमय परिवेश, बन्छ आत्मनिर्भर देश' भन्ने नाराका साथ कृषि औजार वितरण

 जेठ ३०, २०७७ शुक्रबार २१:७:३४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - कोरोना भाइरसको कारण मारमा परेका झण्डै सात सय किसानलाई रामेछाप वीपी कोइराला प्रतिष्ठानले कृषि औजार वितरण गरेको छ ।

वीपी प्रतिष्ठान रामेछापले कोभिड–१९ को मारमा परि रोजगारी गुमाउन पुगेका किसानरुलाई उत्प्रेरणा मिलोस् भन्नको लागि कृषि औजार सामग्रीहरु वितरण गरेको हो । संस्थाले ‘बनाऔँ कृषिमय परिवेश, बन्छ आत्मनिर्भर देश’ भन्ने मूल नाराका साथ महामारीपछि देशमा भोकमारी आउन सक्ने भन्दै आसन्न खाद्य सङ्कटलाई टार्न कृषि औजार वितरण गरिएको प्रतिष्ठानका महासचिव रत्नहरि ढुंगेलले जानकारी दिनुभयो । 

प्रतिष्ठानले विशेषगरी मन्थली नगरपालिकामा बसोवास गरेका सीमान्तकृत माझी समुदायलाई पहिलो प्राथमिकतामा राखेर उनीहरुलाई हलो, कोदालो, कोदाली, पिक, साबेल, ठेकी–मदानी,  दूध दुहुने बाल्टिन, हँसियालगायतका सामग्री वितरण गरेको हो ।

कोरोना भाइरसको कारण बजारका सबै पसल बन्द भएपछि कोदोलो र कोदाली किन्न नसक्दा छिमेकीसँग माहेर खेतमा काम गर्दै आएकोमा संस्थाले किसानको हितको निमित्त खेत तथा पाखो बारीमा दैनिक काम गर्न आवश्यक पर्ने कृषि औजार वितरण गरेकोमा आफूलाई धेरै खुसी लागेको मन्थली नगरपालका ७ भटौलीका किसान खेमबहादुर माझीले बताउनुभयो ।

कोरोना भाइरसको कारण देशमा लकडाउन भइराखेको बेला किसानलाई आवश्यक पर्ने रासायनिक मल, बीउ बिजन  र कृषि औजारको अभावको कारण किसानले दुःख झेल्दै आएका थिए । अहिलेको सरकारले किसानलाई आवश्यक पर्ने मल, बिउ र कृषि औजारलगायतका सामग्रीलाई प्राथमिकतामा नराख्दा किसानले दुःख र सास्ती खेप्नु परेको नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानले बताउनुभयो । 

किसानहरुलाई महामारीको समयमा राहत स्वरुप खाद्यान्न नै सहयोग गर्नुपर्ने थियो तर वीपी प्रतिष्ठानले खाद्यान्नभन्दा कृषि क्षेत्रमा काम लाग्ने आवश्यक कृषि औजारहरु वितरण गर्दा आगामी वर्षमा थप उत्पादन वृद्धि हुनसक्ने अनुमान गरेर औजारहरु वितरण गरिएको प्रतिष्ठानको रामेछापका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,  'देशको कुल गार्हस्थ्य उत्पादनमध्ये झण्डै ३० प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगटेको छ । यस क्षेत्रमा राज्यले आवश्यक मल, बिन बिजन र कृषि औजारका सामग्री किसानको हातमा समयमा पुर्याउन सके देशले कृषि क्षेत्रमा काँचुली फेर्न सक्ने विश्वास लिएका छौँ ।'

किसानहरुलाई कृषि औजार वितरण कार्यक्रमसँगै वीपी प्रतिष्ठान रामेछापले नेपाल पत्रकार महासङ्घमा आबद्ध भइ कोरोना महामारीको समयमा पनि अग्रपङ्क्तिमा काम गर्ने पत्रकाहरुको सुरक्षाको लागि एक सय थान नोजेबल माक्स हस्तान्तरण गरेको छ । 

प्रतिष्ठानले मन्थलीको वीपी चोकनाट कृषि औजार सामग्रीसहित मन्थलीकै देवकोटा चोकसम्म शान्तिपूर्ण र्याली प्रदर्शन गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया