बाँके : लकडाउनमा विकास निर्माणलाई तीव्रता दिन प्रजिअको सक्रियता

 जेठ ३१, २०७७ शनिबार ७:३५:२९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले जिल्लाको विकास निर्माण कार्यलाई तीव्रता दिन सक्रियता देखाउनुभएको छ ।

दुई साताअघि प्रमुख जिल्ला अधिकारीको रुपमा बाँके आउनुभएका कुरुम्बाङले जिल्लाको विभिन्न क्षेत्रको स्थलगत अनुगमनपछि शुक्रबार विभिन्न आयोजनालाई कसरी गति दिन सकिन्छ भनेर सर्वपक्षीय बैठक आयोजना गर्नुभएको छ ।

जिल्ला समन्वय समिति बाँके र जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा भएको कार्यक्रममा लकडाउनका समयमा पनि विकास निर्माण कार्यलाई कसरी तीव्रता दिन सकिन्छ भनेर सरोकारवाला निकायबीच समन्वयात्मक छलफल गरिएको हो ।

प्रजिअ कुरुम्बाङले बैठकबाट प्राप्त सुझावका आधारमा जिल्ला स्तरबाट गर्न सकिने निर्णय तत्कालै गरिने बताउनुभयाे ।

बैठकमा बाँके जिल्लाको विकास निर्माणसम्बन्धी छलफलमा सिक्टा सिँचाई आयोजनाका निर्देशक लोकबहादुर थापा, सडक डिभिजन कार्यालयका प्रमुख रामकुमार देव, नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालयका प्रमुख मुनिन्द्र ठाकुर,  जलश्रोत तथा, सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर विक, सडक तथा पूर्वाधार विकास कार्यालयका प्रमुख मनिष अर्याल, हुलाकी सडक  आयोजनाका प्रमुख युवराज पोखरेल लगायतले आयोजनाको उपलब्धि, कार्यप्रगति र समस्या प्रस्तुत गर्नुभयो ।

अधिकांश आयोजना प्रमुखहरुले निर्माण सामग्रीको अभावमा काम गर्न समस्या परेको बताउनुभयो ।  बैठकमा सहभागी निर्माण व्यवसायी महासंघ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले  निर्माण सामग्री स्थानीयस्तरमा नपाउँदा बाहिरी जिल्लाबाट ल्याउन बाध्य भएको भन्दै सहजरुपमा निर्माण सामग्री पाउने अवस्थाका लागि आग्रह गर्नुभयो ।

बैठकमा सहभागी स्थानीय तहका प्रमुख तथा राजनीतिक दलका नेताहरुले आयोजनालाई तीव्रता दिन राजनीतिक रुपमा सहज वातावरण बनाउन भूमिका खेल्ने बताउनुभयो ।

बैठकमा नेकपा बाँकेका सचिव अशोक कोइरालाले राजनीतिक रुपमा आयोजनामा समस्या भए दलहरुले नेतृत्व लिएर समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया