पाकिस्तानी पूर्वक्रिकेटर शाहिद अफ्रिदीलाई काेराेना सङ्क्रमण

 जेठ ३१, २०७७ शनिबार २१:२९:१६ | रासस
unn.prixa.net

काठमाण्डौ – विश्वव्यापी महामारीकाे रूपमा फैलिएको कोभिड-१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्वक्रिकेटर तथा कप्तान शाहिद अफ्रिदीले आफूमा काेराेना सङ्क्रमण देखिएकाे बताएका छन् । 

ब्याटिङ र बलिङ दुवैका लागि विश्वचर्चित ४५ वर्षीय अलराउण्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी गराएका हुन् । 

उनले भने, 'म गएको बिहीबारदेखि अस्वस्थ भएकाे छु । मेरो शरीरमा असह्य पीडा भएपछि स्वास्थ्य परीक्षण भएको छ । दुःखको कुरा मलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।'

उनले भने, 'सबैको प्रार्थना मेरो स्वास्थ्य सुधारकाे लागि भगवानको आशीर्वाद बन्नेछ ।' सन् १९९६ देखि २०१८ सम्म राम्रो लय प्रदर्शन गर्दै पाकिस्तानकाे लागि विभिन्न खेलमा इतिहास रच्न सफल उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू अझै पनि कायम रहेका छन् ।

अफ्रिदीले कोरोना भाइरसबाट प्रभावित पाकिस्तानी नागरिककाे लागि बस्तीबस्तीमा पुगेर सहयाेग गर्दै आएका थिए । गएको हप्ता उनले एएफपीसँग कुरा गर्दै भनेका थिए, 'म पाकिस्तानी जनतालाई सहयोग गर्न पाउँदा खुसी छु । मैले सहयोगकाे लागि समुदायमा जाँदा मास्क लगाउने र निसङ्क्रमित हुने आवश्यक सबै सावधानीलाई अपनाउने गरेको छु । यतिबेवेला विश्व मानवीय सहयोगका लागि कठिन अवस्था छ ।'

अफ्रिदीको स्वास्थ्य सुधारको कामना गर्दै प्रार्थनासहितका शुभकामना सामाजिक सञ्जालमा उच्च महत्वका साथ सम्प्रेषण भएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया