कालापानीमा सशस्त्रको नियमित गस्ती: सदरमुकाममा बस्दै आएका मानिसहरु गाउँ फर्कन थाले

 असार १, २०७७ सोमबार १७:१७:९ | रासस
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ ।

नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो ।

दार्चुलाको व्यास गाउँपालिका १ को छाङ्रु (गागा) सीमा निगरानी चौकी (बीओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन् ।

छाङ्रुबाट कालापानी १४ किलोमिटरको दुरीमा पर्छ । दार्चुला सदरमुकाम खलङ्गाबाट छाङ्रु झण्डै ८० किलोमिटर र छाङ्रुबाट गुञ्जी दोभान १० किलोमिटरको दुरीमा पर्छ । गुञ्जीबाट लिपुलेक १७ किलोमिटर टाढा छ । कालापानीबाट लिम्पुयाधुरा पुग्न सडक बाटो नभएकोले हिँडेर जान १० घण्टासम्म लाग्छ ।

सरकारले भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरासमेतको भूमिलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरिसकेको छ । नयाँ नक्सालाई समेटेर बनाइएको निशान छापलाई प्रतिनिधि सभाको गएको जेठ ३१ गतेको बैठकले नेपालको संविधानको अनुसूचीमा संशोधनको विधेयकलाई सर्वसम्मतरुपमा पारित गरेको छ ।

यो क्षेत्रमा भारतीय सुरक्षा फौज बसिरहेको तथा लिपुलेक र लिम्पुयाधुरा क्षेत्रमा यातायात सहज नभएकोले सरकारले क्रमशः राज्यको उपस्थिति बढाउन थालेको हो । नेपाल र भारतबीचको सुगौली सन्धि बमोजिम कालीनदीदेखि पूर्वतर्फ नेपाल हो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले रासससँगको विशेष कुराकानीमा छाङ्रुमा बीओपी सञ्चालनमा आएपछि त्यहाँका जनता खुसी भएको, उनीहरुले सुरक्षित महसुस गरेको र दार्चुला सदरमुकाममा बस्दै आएका मानिसहरु गाउँ फर्कन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सीमालाई सुरक्षित र व्यवस्थित बनाउनेतर्फ हामी अग्रसर भएका छौँ ।

बिओपीहरुको विस्तारले सीमामा हामीलाई बढीभन्दा बढी उपस्थिति गराउन मद्दत पुग्नेछ ।’ भारतले महाकाली नदी किनारै किनार सडक बनाएर गुञ्जीबाट कालापानी हुँदै लिपुभञ्जाङसम्म पुर्‍याएपछि नेपालले कुटनीतिक नोटमार्फत गम्भीर असहमति जनाइसकेको छ । चीनको मानसरोवर जोड्न भारतले नेपाल भूमि हुँदै सडक बनाएको थियो ।

बजेट विनियोजनपछि छाङ्रुमा सशस्त्र प्रहरी बल नेपालले भवन निर्माण प्रक्रिया सुरु गरिसकेको छ । सरकारले भवन निर्माणको लागि ११ करोड रुपैयाँ बजेट छुट्याइसकेको छ । गएको वैशाख ३१ गते नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ २५ सशस्त्र प्रहरी पुर्‍याएर बीओपी स्थापना गरिएको थियो ।

गएको मङ्सिर २३ गते सरकारले सीमा क्षेत्रमा थप एक सय १४ निगरानी चौकी स्थापना गर्ने निर्णय गरेको थियो । विगतमा ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बलको उपस्थिति अहिले ७७ जिल्लामा विस्तार भइसकेको छ । विसं २०७४ को अन्त्यसम्म ८७ वटा रहेको बीओपीलाई दुई सय २१ सम्म विस्तार गर्ने योजना अनुशार अहिले एक सय ३० सञ्चालनमा ल्याइएको छ ।

उत्तरी सीमातर्फ सङ्खुवासभाको किमाथाङ्का, दार्चुला छाङ्रु, मुस्ताङ्गको नेचुङ्गमा नयाँ बीओपी स्थापना भएका हुन् । हुम्लाको नाम्खाको हिल्सा र बैतडीको पञ्चेश्वरमा चाँडै बीओपी उद्घाटन गरिने खनालले बताउनुभयो ।

सङ्घीय संसद्बारा पारित आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा ७० ठाउँमा बीओपीका लागि भौतिक पूर्वाधार निर्माण गर्ने उल्लेख छ भने त्यसको लागि ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सीमा सुरक्षासहित विभिन्न १४ कार्यादेश पाएको सशस्त्र प्रहरीले साङ्गठनिक पुनःसंरचना गर्दै चालु आवमा दुई सय २१ बीओपी स्थापनाको लक्ष्य लिएको छ भने क्रमशः यसलाई विस्तार गरी दीर्घकालमा पाँच सयसम्म बनाउने योजना अघि सारेको छ ।

यसरी विस्तार गर्दा सीमा सुरक्षामा १९ हजारसम्म सुरक्षाकर्मी खटाउनुपर्ने देखिएको छ । यसको लागि झण्डै १० हजार जनशक्तिको दरबन्दी थप्न बलले नेपाल सरकारसँग आग्रह गरेको छ । सीमा क्षेत्रमा थप एक सय १४ वटा बीओपी निर्माण गर्न नेपाल सरकारबाट स्वीकृति प्राप्त भएकामध्ये २३ वटा स्थापना भइसकेको र अन्य स्थापनाको क्रममा रहेको बलले जनाएको छ ।

सीमा सुरक्षासँगै राजस्व वृद्धि

सीमामा हुने लागुऔषधको कारोबार, चोरी, निकासी र पैठारी रोकेर राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले योगदान गरिरहेको छ । चालु आवको गत माघसम्ममा एक सय ३० बीओपीका कारण ६२ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रति नौ किलोमिटरमा बीओपी राख्न थालिएपछि सुरक्षाकर्मीलाई पैदल गस्ती गर्न पनि सहज भएको छ । नेपाल र भारतका सशस्त्र प्रहरीको गत वर्ष पोखरामा सम्पन्न संयुक्त बैठकको सहमति अनुसार दुई देशका २० सीमा नाकामा सहायता कक्षा स्थापना गर्दा दुवैतर्फ अपराध र चोरी पैठारी घटेको छ । दुई देशकै सहमतिमा सीमाका विभिन्न ५४ स्थानमा सर्भिलेन्स (सीसी क्यामरा) जडान गर्ने कार्य पनि भइरहेको छ ।

सहायता कक्षले दुवैतर्फ सीमा मिचिएमा पनि एकआपसमा सूचना आदान प्रदान र सहजीकरण गर्नेछ । तेस्रो देशका नागरिक प्रवेशाज्ञाविना आवागन गरेमा पनि रोकावट हुनेछ ।

चीनसँग जोडिएका नाकामा पनि यही प्रबन्ध गरिएको छ । बीओपीलाई समय समयमा प्रधान कार्यालयबाट पनि अनुगमन हुने गरेको छ भने बाहिनी, गण हुँदै गुल्मले आवश्यक निर्देश गर्दै आएका छन् ।

कोरोना रोकथाममा पहल

महानिरीक्षक खनालले कोरोना महामारीको सन्दर्भमा बलले नागरिकलाई सुसूचित गराउन अहिलेसम्म ३६ स्थानमा हेल्थ डेस्क स्थापना गरेको र नेपाल एपीएफ अस्पतालमा एक आईसीयू सेवासहित ६ वटा शय्या आइसोलेशनको लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउन आवश्यक शान्ति सुरक्षा र सुशासनको वातावरण निर्माण गरी भ्रष्टाचारमुक्त समाज निर्माणमा आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया