गण्डकी प्रदेश : थप १८ जनामा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमित २ सय २३ पुगे

 असार २, २०७७ मंगलबार ७:३:१८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा कोरोनाका १८ जना नयाँ बिरामी थपिएका छन् । 

गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखाको गोरखा नगरपालिकामा एक महिलासहित ८ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकाका दुई जना, स्याङजा चापाकोट नगरपालिकाका ४ जना तथा कास्कीको पोखरा महानगरपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक-एक जना गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

उनीहरु सबैजना भारतबाट फर्किएर क्वरेन्टीनमा बसेका पनि उहाँले बताउनुभयो । अहिले सङ्क्रमण पुष्टि भएका सबैजनालाई सम्बन्धित जिल्लाका आइसोलेशन कक्षमा लैजाने तयारी भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पुष्टि भएकाको संख्या २ सय २३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको जानकारी नियमित पत्रकार सम्मेलनमा दिनेछ । मन्त्रालयले अहिलेसम्म ६ हजार २ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि गरेको छ । १ हजार ४१ जना निको भएका छन् भने १९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया