‘महिलालाई छुट्टै क्वरेण्टीनको व्यवस्था गरियोस्'

 असार २, २०७७ मंगलबार १३:५१:५७ | रासस
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय सभाका सांसदहरुले महिला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना सङ्क्रमित महिलालाई छुट्टै क्वरेण्टीनमा राख्न माग गरेका छन् । 

सुदूरपश्चिमको कैलाली, लम्कीचुहा नगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वरेण्टीनमा भएको बलात्कारको घटनाको विरोध गर्दै सांसदहरुले महिलाका लागि छुट्टै क्वरेण्टीनकाे व्यवस्था गर्न आग्रह गरेका हुन् ।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावल थापा (पार्वती)ले क्वरेण्टीनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा गर्दै दोषीमाथि कडा कारबाहीकाे माग गर्नुभयाे। 

उहाँले भन्नुभयो, ‘महिला सङ्क्रमितको सङ्ख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वरेण्टीनकाे व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु ।’

नेकपाकै सांसद महेशकुमार महराले पनि बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । 

नेकपाका मायाप्रसाद शर्माले जाजरकोटकाे नरगाढा नगरपालिका बस्ने वीरबहादुर कामीको यही जेठ १५ गते रोजगारीको सिलसिलामा मलेसियामा ज्यान गएको बताउँदै मृतकको शव नेपालसम्म ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका प्रकाश पन्थले देशैभरी क्वरेण्टीनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वरेण्टीनमा भएको बलात्कारकाे घटना अत्यन्त निन्दनीय भएकाे बताउनु भयाे । 

उहाँले मापदण्ड विपरीत सञ्चालन गरिएका क्वरेण्टीन तत्काल व्यवस्थित गर्नुपर्ने माग पनि गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया