बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्छ : राष्ट्रिय सभा सदस्य बिडारी

 असार २, २०७७ मंगलबार १५:३९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलमा बिडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताउनुभयो । साउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चाँडै विकास निर्माणको बजेट ठिक समयमा खर्च होस् भनेर असारमा बजेट पास हुन्छ । अनि साउनबाट फटाफाट काम गरे हुने नि । अनि मन्त्रीलाई काम गर्न के ले छेक्यो ? कुन प्रेत आयो त्याँ कुन भूत आयो त्यो ? किन चैत महिनामा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्दै हिँड्ने ? यसपालि त कोभिडले चैत खायो, वैशाख खायो, जेठ खायो, असार आयो ।

अब ख्वाम ख्वाम पैसा सिध्याउने काम गर्ने, कागज बनाउन थालियो । यही सरकारले यही पटकबाट यस्तो काम गरोस् । यति पनि गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजनीमा दिए हुन्छ । त्यति पनि गर्न नसक्ने । अरुथोक केही गर्नुपरेन । बजेट छुट्ट्याएको छ, संसदले पास गरेको छ । अनि त्यसपछि चैत महिनामा अख्तियारी, फागुनमा अख्तियारी । किन तलब खाएर बसेको ? मन्त्रीले यो कुरा विचार गरुन् ।’

विपक्षी दलहरुले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च एक सय रुपैयाँ राख्नुस् भन्ने प्रवित्तिले विकास हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘विपक्षी झन् त्यस्तै । पैसा यहाँ नि बढाउँन, यहाँ नि पुगेन, त्यहाँ नि पुगेन भन्छ । अनि बजेट चाहिँ एक सय रुपैयाँमात्रै राखियोस् मन्त्रालयमा भन्छ । एक सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे, ऊ नि बनाइदे बजेट पुगेन भन्छ । विपक्षी यस्तै, सत्ताउस्तै । अनि देश कसरी विकास हुन्छ ?’

उहाँले भन्नुभयो, ‘यत्रो छलफल ग-यो, यत्रा दिनको तलब भत्ता ग्वाम–ग्वाम खायौँ । अनि बजेट चाहिँ सरकारले जे ल्यायो त्यही एक रुपैयाँ नि परिवर्तन हुँदैन । यस्तो पनि कहिँ हुन्छ ? यो छलफल नाटक किन गरेको ?’

अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले प्रतिनिधि सभामा दैनिक खर्च धान्न गाह्रो भएको भन्दै दिएको अभिव्यक्तिको उहाँले आलोचना गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म १५, १६ वर्षको थिए । १६ हजार ऋण छ नेपालीको टाउकोमा भनेर भाषण गर्थे । त्यो ऋण त अहिले पनि बाँकी नै छ रे, ३४ हजार पुग्यो रे । कस्तो सरकार चलाएछन् ? कस्तो ऋण तिरेछन् ? अब त ४० अर्ब खर्च रे, १५ अर्ब आम्दानी रे । अनि तलब पनि विदेशीसँग मागेर खाने रे । अनि हामी परलम्बी हुँदैनौँ भनेर धाक लगाउने ?’

सांसदहरु नीति निर्माणभन्दा पनि बजेटकै पछि कुद्ने गरेको उहाँले बताउनुभयो । देशको लागि बजेट र नीति निर्माण गर्नुपर्ने भए पनि आफ्नो क्षेत्रको लागि कहाँ बजेट पाइन्छ भनेर सुँघ्दै हिँड्ने प्रवृतिले देश विकास नभएको उहाँले बताउनुभयो । सरकारले सरकार ढल्ने डरले सांसदहरुलाई विभिन्न नाममा पैसा बाँडेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सांसदहरुले विरोध गरे सरकार ढाल्छ रे भनेर कहिले ६ करोड डाइरेक्ट, कहिले घुमाएर चार करोड अनि बाटोघाटो भनेर १०/आठ करोड हाल्दिने काम मन्त्रीले गर्‍यो । यसबाट देश विकास हुँदैन । त्यसैले बजेट मार्न र बजेट पार्न हुँदैन ।’

पछिल्लो समय सडकमा कोरोना महामारी नियन्त्रणको लागि भएको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै भइरहेका प्रदर्शनलाई लक्षित गर्दै उहाँले मन्त्रालयलाई दैनिक खर्च वेबसाइटमा सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ’कोभिड—१९ मा कहाँ कति कसरी खर्च भयो भनेर सडकमा नारा लगाउनुपर्छ ? दिनदिनैको खर्च वेबसाइट हाल्नु । यति खर्च भयो, यति आम्दानी भयो, यति डोनेशन प्राप्त भयो भनेर निकाल्दा हुँदैन ? त्यो निकाल्न कसले छेक्यो हाम्रा मन्त्रीज्यूलाई ? अनि सडकमा नारा लगाउन पर्ने विपक्षीले । के–के न भने भनेर फुर्ति लगाउने । मैले त त्यो १० अर्बको पैसाको हिसाब मागे भनेर फुर्ती लाउने त्यसो किन गर्‍या ?’

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया