स्याङ्जाका ९० वर्षीय वृद्धमा देखियो कोरोना

 असार २, २०७७ मंगलबार १७:५९:६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

स्याङ्जा ‍ – स्याङ्जाको वालिङ स्थायी घर भइ कास्कीकाे पोखरा भेडीफारममा बस्दै आउनुभएका ९० वर्षीय वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पोखरामा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उच्च रक्तचापसँगै यूटीआई (पिसाबमा सङ्क्रमण हुने) समस्याकाे कारण गएकाे जेठ २६ गते पोखरा पृथ्वी चोकको पश्चिमाञ्चल सामुदायिक अस्पताल भर्ना हुनुभएका वृद्धमा मङ्गलबार काेराेना सङ्क्रमण पुष्टि भएको हो ।
 
मङ्गलबार दिउँसो नै तनहुँका दुई जना पुरुषमा पनि काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सङ्क्रमण पुष्टि हुनेमा शुक्लागण्डकी नगरपालिकाको क्वरेण्टीनमा बसेका १२ र ४६ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमितलाई बेलचौताराको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेशनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

मङ्गलबार बिहानमात्रै गण्डकीमा १८ जना सङ्क्रमित थपिएका थिए । गण्डकी प्रदेशमा अहिलेसम्म दुई सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ । वालिङ-३ घर भएका ५८ वर्षीय पुरुषको २५ जेठमा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेशनमा ज्यान गएको हो ।

अन्तिम अपडेट: चैत ६, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया