कोरोना भाइरस : भारतमा एकैदिन २ हजारको मृत्यु

 असार ३, २०७७ बुधबार १३:४७:५१ | रासस
unn.prixa.net

काठमाण्डौ – भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसबाट मृत्यु हुनेकाे सङ्ख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको सङ्ख्यामा आउने गरेकोमा बुधबार हजारको सङ्ख्यामा आएको छ । 

भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे कारण मृत्यु भएकाहरुको सङ्ख्या दुई हजार तीन रहेको छ । अघिल्लो दिन मङ्गलबार बिहान २४ घण्टामा तीन सय ८० जनाको मृत्यु भएको थियो । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसकाे कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या ११ हजार नाै सय तीन पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार नाै सय ७४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ५४ हजार ६५ पुगेको अधिकारीहरुले जनाएका छन् ।  

स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि एक लाख ५५ हजार दुई सय २७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अन्य एक लाख ८६ हजार तीन सय ९५ जना सङ्क्रमणमुक्त भएका छन् । भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसकाे कारण मृतकको सङ्ख्या एक्कासी बढेकोप्रति चिन्ता व्यक्त गरेको छ । 

भारतमा प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म एक लाख १३ हजार चार सय ४५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । तीमध्ये कुल ५० हजार ५७ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ५७ हजार आठ सय ५१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । 

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ४८ हजार १९ जना रहेका छन् ।  राजधानी रहेको दिल्ली प्रदेशमा ४४ हजार ६ सय ८८ जना सङ्क्रमित भएका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया