बर्दिया निकुञ्जका बाघ, राजमार्गमा ‘क्याटवाक’ ! (फोटो फिचर)

 असार ३, २०७७ बुधबार १८:४:१३ | भावुक योगी
unn.prixa.net

बर्दिया – कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन देशभर लकडाउन हुँदा पूर्व–पश्चिम राजमार्गमा गाडी नगुड्दा बाघ, हात्तीलगायतका अन्य वन्यजन्तुहरु दिनहुँजसो राजमार्गमा देखिन थालेका छन् ।  

पहिले जङ्गलभित्र मात्रै देखिने बाघ, हात्ती, गैँडालगायतका वन्यजन्तु लकडाउनकाे बेला राजमार्गमै देखिन थालेकाे बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । ‘कहिलेकाँही त पाटे बाघ र जङ्गली हात्तीलगायतका वन्यजन्तुले राजमार्ग ओगटेको देखिन्छ । बाघले त राजमार्ग नै छेकेर बसेका हुन्छन् । बाघ त राजमार्गमा दिनहुँ ‘क्याटवाक’ गर्छन्’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो ।  

बाघ मात्रै होइन हात्ती, गैँडालगायतका ​वन्यजन्तु निकुञ्जभित्र पर्ने राजमार्गमा निर्वाधरुपमा हिँडडुल र ओहोर दोहोर गर्न थालेका छन् । ‘कहिलेकाँही निकुञ्जको गस्तीमा निस्कँदा राजमार्गमा पाटे बाघ बसेको, बीच सडकमा हिँडिरहेको, राजमार्गको बीच सडकमा सुतेको, छेउमा उभिएको देख्न पाइन्छ, राजमार्गमा जडान गरेको क्यामरामा पनि हरेक दिन बाघ देखिने गरेका छन्’ डा.  रबिन कडरियाले भन्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक तथा आर्थिक सहयोगमा पूर्व–पश्चिम राजमार्ग छेउछाउमा बर्दिया निकुञ्जले क्यामरा जडान गरेको छ । लकडाउनकाे बेला वन्यजन्तुको राजमार्गमा ओहोर दोहोरको अवस्था अध्ययन गर्न जडान गरिएका क्यामरामा एउटै बाघले लगातार झण्डै चार किलोमिटर राजमार्गमा हिँडेको तस्बिरसमेत रेकर्ड भएको (एनटीएनसी) का डा. कडरियाले बताउनुभयो । 

निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दिया संरक्षण कार्यक्रमको प्राविधिक सहयोगमा लकडाउन सुरु भएपछि राजमार्गको १६ किलोमिटर दुरीमा १० ठाउँमा क्यामरा जडान गरेको छ । ‘क्यामराले रातभर राजमार्गमा पाटे बाघ हिँडडुल गरिरहेको तस्बिर कैद गरेको छ । होहल्ला नहुँदा बाघ, हात्तीलगायतका वन्यजन्तु राजमार्गमा स्वतन्त्ररूपमा हिँडिरहेका देखिन्छन् ’ उहाँले भन्नुभयो । 

एकैदिनमा तीन वटा बाघ नजिकैबाट देख्नुभएका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो, ‘अहिले बाघ हेर्न निकुञ्जको घना जङ्गलभित्र पस्नै पर्दैन, बाघ त राजमार्गमै भेटिन्छन् । गस्तीमा जाँदा निकुञ्जका कर्मचारीले एकैदिनमा पाँच वटासम्म बाघ, १२ वटासम्म गैँडा र ५० बढी हात्तीकाे हुल पनि देखेका छन् ।’

बर्दिया निकुञ्जभित्रै रहेको पूर्व–पश्चिम राजमार्गमा पाटे बाघको ओहोर दोहोर बढेको छ । लकडाउन अवधिभर अम्रेनीदेखि कर्णाली पुलसम्म ८० दिनमा १७ वटा पाटेबाघ राजमार्ग किनारमा राखिएको क्यामरामा कैद भएका छन् ।

अम्रेनीदेखि कर्णाली चिसापानीको बीच भागमा पर्ने राजमार्गमा बाघ निकै ओहोर दोहोर गरेको पाइयो । चित्तल, बाह्रसिङ्गाको बथान राजमार्गको तलमाथि घण्टौँसम्म रमाएको फोटो र भिडियो पनि क्यामरामा कैद भएका छन् । सैनवारदेखि रम्मापुरसम्मको राजमार्गमा भने जङ्गली हात्ती बढी देखिएका छन् ।

अनुगमनको प्रारम्भिक अध्ययनले पाटे बाघ र गैँडाको सङ्ख्या बढेको निकुञ्जले अनुमान गरेको छ । बर्दिया निकुञ्जमा सन् २०१८ को बाघ गणनामा ८७ वटा वयस्क पाटेबाघ रेकर्ड गरिएको छ । सन् २०१३ मा ५० रेकर्ड गरिएको थियो भने सन् २०१२ को गणनामा ३७ वटा, सन् २०१० मा १८ वटा, सन् २००९ मा १८ वटा र सन् २००० मा गरिएको बाघ गणनामा १४ वटा वयस्क पाटे बाघ थिए । 

त्यस्तै गैँडाको सङ्ख्या सन् २०१८ मा २९ वटा रेकर्ड गरिएको थियो भने सन् २०१७ र २०१८ गरी चितवन राष्ट्रिय निकुञ्जबाट आठ वटा गैँडाको स्थानान्तरण गरिएको थियो । यही चैत महिनाबाट गर्ने भनिएको गैँडा गणना कोरोनाकाे कारण प्रभावित भएको छ । जङ्गली हात्ती एक सयको हाराहारीमा छन् ।

साथमा हात्ती र गैँडा पनि

फोटो सौजन्य : राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रबिन कडरिया, प्राकृतिक स्रोत संरक्षण सहायक उमेश पौडेल र बर्दिया राष्ट्रिय निकुञ्ज 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया