दाङ : कोरोना सङ्क्रमण दर बढेपछि सुरक्षा सतर्कता, दिउँसो १२ बजेपछि तुलसीबजार बजार बन्द गर्ने निर्णय

 असार ५, २०७७ शुक्रबार ८:३९:२२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर बजार आज शुक्रबारदेखि दिउँसो १२ बजेपछि बन्द हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा जोखिम न्यूनीकरणकाे लागि शुक्रबारदेखि लागू हुने गरी दिउँसो १२ देखि बजार बन्द गर्ने निर्णय गरेको हो । तर अत्यावश्यक तरकारी, दूध, औषधि, भेटनरी, कृषि, ढुवानी, बैंक, वित्तीय सेवा, बीमालगायतका व्यवसायहरु पहिलेकै निर्णय अनुसार सञ्चालन हुनेछन् ।

बैठकले उपमहानगरलिकाभित्रका क्वरेण्टीनलाई थप व्यवस्थापनसहित निरन्तरता दिने, नगरका तीन ठाउँमा शव अन्त्येष्टिको व्यवस्थापन गर्ने, शव वाहनका लागि प्रदेश सरकारसँग माग गर्ने, घोराही–तुलसीपुरको आवत जावतमा थप सजगता अपनाउनेलगायतका निर्णय गरेको छ ।

विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको बैठकमा नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनीतिक दल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, १९ नम्बर बाहिनी, तुलसीपुर उद्योग वाणिज्य सङ्घलगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

दाङको घोराही बजार भने बिहीबारदेखि नै बेलुकी ५ बजेपछि बन्द हुने निर्णय गरिएकाे थियाे । कोरोना सङ्क्रमण दर बढेपछि दाङमा उच्च सुरक्षा सतर्कता बढाइँदै बजार बन्द गरिएको हाे । दाङमा अहिलेसम्म दुई सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया