‘सङ्कटलाई अवसरमा बदल्न सके यसै वर्ष झण्डै १५ लाख युवाले रोजगारी पाउनेछन्’

 असार ५, २०७७ शुक्रबार १४:४०:४३ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणको कारण अर्थतन्त्रमा सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटभन्दा पनि धेरै असर पर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले पूर्वानुमान गरेको छ । लामो समयदेखि लकडाउन भइरहेकोले नेपालको अर्थतन्त्रमा पनि ठूलो असर पर्ने आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् । लकडाउनको कारण तीन महिनादेखि ठप्प भएको नेपालको आर्थिक गतिविधिलाई कसरी सक्रिय बनाउन सकिएला ? टेकमान शाक्यले नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानसँग कुराकानी गर्नुभएको छ ।

लकडाउन केही खुकुलो भएको छ, अब आर्थिक गतिविधिहरु स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर सञ्चालन गर्नुपर्ने हुन्छ । उद्योगी व्यवसायीहरुको तयारी कस्तो छ ?

कोरोना सङ्क्रमण दर हरेक दिन बढ्दैछ । लकडाउन केही खुकुलो भएसँगै उद्योग व्यवसाय पनि बिस्तारै सञ्चालन गर्दैछौँ । सरकारले जारी गरेका मापदण्डलाई पालना गरेर हामीले गतिविधि सञ्चालन गर्दैछौँ । व्यवसाय गर्ने व्यक्ति र त्यसबाट लाभ लिने दुवै क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर हामीले काम गर्ने रणनीति बनाएका छौँ । स्यानिटाइज गर्ने, मास्क लगाउने, भौतिक दूरी कायम गर्नेलगायत मापदण्ड अपनाएर गतिविधि सञ्चालन गर्न म सबै उद्योगी व्यवसायीहरुसँग आग्रह गर्छु ।

झण्डै ३ महिनादेखिको लकडाउनले उद्योगी व्यवसायीले धेरै नै गुमाउनुपर्यो । अब ठप्प आर्थिक क्रियाकलापलाई कसरी माथि उठाउन सकिएला ?

उद्योग, कलकारखाना र व्यवसाय कसरी अघि बढाउने भन्नेबारे सरकारसँग पनि हाम्रो छलफल भइरहेको छ । आर्थिक मन्दी नेपालमा मात्रै होइन, विश्वभर नै परिरहेको छ । यसको समाधानको लागि हामी सबै संयम हुनुपर्ने आवश्यकता छ । सरकारले राहतका कार्यक्रमहरु पनि ल्याउनुपर्ने देखिन्छ । अब सरकारले साना साना कर्जाको ब्याज मिनाह गरिदिनुपर्छ । कृषि, इन्फ्रास्टक्चर, शिक्षालगायत क्षेत्रलाई कसरी टेवा पुर्याउन सकिन्छ भन्नेबारे गहन अध्ययन गरेर रणनीति बनाउनुपर्छ । उद्योगी व्यवसायी मारमा पर्नु भनेको सरकार र आमनागरिक नै मारमा पर्नु भएकोले यसबारे बेलैमा सचेत हुनुपर्छ ।

सरकारले उद्योगी व्यवसायीप्रति अलि धेरै उदारता देखाउनुपर्यो, प्याकेजहरु ल्याउनुपर्यो भन्न खोज्नुभएको हो ?

उद्योगी व्यवसायी मर्कामा पर्यो भने राजस्व सङ्कलनमा समस्या हुन्छ र त्यसको असर सरकारलाई नै पर्न जाने हो । सरकारले हामीप्रति हेर्ने दृष्टिकोण अलि सकारात्मक राख्नुपर्यो । यस्तो काम गरौँ कि व्यवसायीलाई पनि हानी नहोस् र सरकारलाई पनि सहयोग पुगोस् । लकडाउन खुकुलो भएसँगै धेरै कुराहरु गर्न अझै बाँकी छ, सरकारसँग हामी सँगसँगै अघि बढ्न चाहन्छौँ ।

त्यसो भए सरकारसँग कसरी सहकार्य गर्न खोज्दै हुनुहुन्छ ?

अहिले एउटा अवसर आएको छ कृषिमा क्रान्ति गर्ने, जङ्गलमा पाइने जडीबुटीबारेको उद्योग सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रको सुधार गर्नेलगायत । यी क्षेत्रमा उद्योगी व्यवसायीहरुले लगानी गरे सरकारको राजस्व पनि बढ्ने हो । यस्तो अवस्थामा व्यवसायीलाई अख्तियार लगाउनेजस्ता काम गरेर व्यवसायीहरुलाई आतङ्कित बनाउन हुँदैन । समयमा कर तिर्ने वातावरण कसरी बनाउन सकिन्छ भनेर सरकारले सोच्नुपर्छ । 

यस्ता विषयमा सरकारले ध्यान दिन सके उद्योग व्यवसाय पहिलेकै अवस्थामा फर्कन सक्छन् भन्ने मलाई लाग्छ । यसबारेमा सरकारी ध्यान जाओस्, हामी सहकार्य गरेर अघि बढ्न तयार छौँ । सरकार र हामी एउटै गाडीका दुई वटा पाङ्ग्रा हौँ । सरकार र निजी क्षेत्र मिलेन भने त आर्थिक गतिविधि सञ्चालन गर्ने र समृद्ध देश निर्माण गर्न समस्या हुन्छ ।

गएका दिनमा जे भयो र भइसक्यो, अबका दिनमा अर्थतन्त्र ठिक ठाउँमा ल्याउन र अझै धेरै कुराहरु गुम्न नदिन बाटो पहिल्याउनुपर्ने समय आइसक्यो नि, हैन ? 

हो, अर्थतन्त्रलाई तहसनहस हुन नदिनको लागि नै सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ भनेको हुँ मैले । साना तथा मझौला र लघु उद्यमी व्यवसायहरुलाई पहिले संरक्षण दिनुपर्छ । स्वदेशी उत्पादनलाई उपभोग गर्ने अनिवार्य वातावरण बनाउनुपर्छ ।

स्वदेशी उद्योगको उपभोग गर्ने, कृषि क्षेत्रको प्रवद्र्धन गर्ने, नेपालकै फलफुललाई प्रवर्द्धन गर्ने, पहिले आफ्नो देशमा भएका वस्तुको खपत गर्ने र नपुगेको खण्डमा मात्रै विदेशबाट ल्याउने गर्नुपर्छ । त्यसो गरियो भने यहाँको रोजगारी बढ्नेछ । आम्दानी बढ्नेछ र देशका नागरिकहरु सुखी हुने सम्भावना रहन्छ । यी कुरामा सरकारको आँखा तत्काल जाने हो भने व्यवसायीको हित पनि हुनेछ र देशको अर्थतन्त्रमा पनि सुधार हुनेछ ।

कुनै सङ्कट आइपर्दा त्यसले अवसर पनि बोकेर आउँछ भनिन्छ । कोरोनाले निम्त्याएको लकडाउनको कारण पनि हामीलाई केही अवसरहरु जुटेका छन् ?

पक्कै पनि अवसरहरु जुटेका छन् । सङ्कटको साथमा समाधान पनि आउँछ । अब हामीले समाधान पहिल्याउनुपर्छ । समाधान थाहा पाउनेबित्तिकै सङ्कटलाई छाडेर हिँड्नुपर्छ, अघि बढ्नुपर्छ । जस्तै अहिले कृषिका सम्भावनाहरुलाई यही समयमा उपयोग गर्नुपर्छ । उत्पादनका सम्भावनाहरुलाई यही समयमा अघि बढाउनुपर्छ । 

स्वदेशी उद्योगको सामान अनिवार्य खरिद गर्ने रणनीति यही बेलामा ल्याउन सक्छौँ । फलफुल र तरकारी खेती गर्ने र त्यसको सम्भावित बजार व्यवस्थापन गर्न यही समयमा लाग्नुपर्छ । त्यसकारण सरकार र निजी क्षेत्रको सहकार्य मिलेको खण्डमा हामीले यो सङ्कटलाई भरपुर अवसरको रुपमा सदुपयोग गर्न सक्छौँ ।

विदेशबाट लाखौँ युवाहरु स्वदेश फर्किरहेका छन् र फर्कने क्रममा छन् । उनीहरुलाई प्रयोगमा ल्याउन रोजगारी सिर्जना गर्न कसरी सकिएला ?

कृषि र वन क्षेत्रमा उद्यमशील विकास गरेर काम गरे हामीले उनीहरुलाई सजिलै रोजगारीमा लगाउन सक्छौँ । अहिले सरकारले भूमि बैंकको अवधारणा ल्याएको छ । यो अवधारणालाई व्यवस्थित गरेर अघि बढ्ने हो भने रोजगारीको ठूलो सम्भावना छ । दुई सय बिघासम्मका जग्गाहरु चक्लाबन्दी गरेर त्यहाँ कृषि गर्ने हो भने रोजगारी त त्यहीँ नै सिर्जना भइहाल्छ नि, हैन र ? 

उद्योग व्यवसायलाई प्रवर्द्धन गर्न सके यसै वर्ष १० देखि १५ लाख युवालाई नेपालमै रोजगारी दिन सकिन्छ । त्यसका लागि सरकारले नीति मात्रै हैन, कानुन पनि बनाउनुपर्छ । जङ्गलमा उब्जिने जडीबुटी व्यवसाय पनि हाम्रा लागि प्रचुर सम्भावना भएको क्षेत्र हो । त्यसैले अहिले नै सङ्कट आइपर्‍याे भनेर डराउनुपर्ने आवश्यकता छैन ।  

अन्तिम अपडेट: चैत १, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया