ज्यानभन्दा पैसा ठूलो होइन, तर घर फर्कने पैसा छैन

 असार ६, २०७७ शनिबार १०:५८:३१ | मेरो कथा मेरो भोगाई

धनराज घिमिरे/गोरखा, हाल साउदी ।

कोरोना महामारीसँगै परदेशमा रहेका मजस्ता धेरै श्रमिकहरु समस्यामा परेका छौं । समस्या एकै प्रकारका छैनन् । कसैको जागिर गुमेको दुःख छ भने कसैको भिसाको म्याद सकिएको, करार अवधि सकिएकोमा समस्या छ । कसैलाई भने काम गर्दा पनि तलब नपाउँदाको पीडा छ ।

म साउदी आएको १४ महिना भयो । एक लाख २५ हजार रुपैयाँ म्यापावरलाई बुझाएर आएको हुँ । सुरुको ७–८ महिनासम्म त काम गरेको पारिश्रमिक पाइराखेकै थिएँ । काम पनि जसोतसो चलिराखेको थियो ।

पछि कोभिड–१९ ले गर्दा तीन महिना भयो काम छैन । कोठामा बसेको पनि ३ महिनाभन्दा बढी भइसक्यो । यो अवस्थामा काम नहुनु पनि ठिकै हो ।  कोरोना महामारीका कारण विश्वभरी लाखौं मानिसहरुले ज्यान गुमाई सकेका छन् । ज्यानभन्दा पैसा ठूलो होइन । यस विषयमा म पनि सहमत नै  छु । यसैमा चित्त बुझाएको छु । तर कम्पनीले गएको फेब्रुअरी महिनादेखिको तलब नै दिएको छैन ।

साउदीमा कोरोना मार्च महिनाको १३–१४ तारिखदेखि सुरुवात भएको  थियो । तर म कार्यरत रेस्टुरेन्टले फेब्रुअरीदेखि नै तलब रोकेर राखेको छ । हामीले काम नगरेर सुतेको महिनाको तलब चाहिन्छ भनेको पनि छैन । कमसेकम काम गरेको महिनाको त तलब दिन पर्ने हो नि, तर त्यो पनि छैन ।

एउटै कम्पनीमा काम गर्ने म लगायत धेरै साथीहरु बिरामी हुँदा पनि कम्पनीले वास्ता गरेन । कम्पनीको मालिकलाई फोन गर्दा फोन समेत उठाएनन् । यस्तो अवस्थामा परदेश जस्तो ठाउँमा हामी श्रमिकहरुको आमा बुवा अनि अभिभावक भनेकै कम्पनी नै हो । तर जब कम्पनीले नै वास्ता नगरेपछि हामीलाई कस्ले हेर्छ ?

नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्ने भन्दै अघिपछिको भन्दा तीन गुणा भाडादर तोकेको छ, जब कि हामी बिना तलब बसेको नै ५ महिनाभन्दा बढी भईसक्यो । यस्तो अवस्थामा घर आउने भाडा कहाँबाट जम्मा गर्ने रु अहिले त हामीसँग खाना खाने पैसा पनि छैन । विभिन्न संघ संस्थाले बाँडेको राहतले ज्यान बचाई राखेका छौं भने जहाजको टिकट काट्ने पैसा कहाँ खोज्न जाउँ सरकार ?

मलाई आशा छ सरकारले हामीजस्ता नेपालीको लागि कुनै विकल्प खोजिदिनेछ ।

 

अन्तिम अपडेट: असार १३, २०७७

तपाईको प्रतिक्रिया