स्वाब परीक्षण गर्न सुदूरपश्चिमबाट ५ हजार ४१२ नमुना काठमाण्डाै पठाइयाे

 असार ६, २०७७ शनिबार २१:६:४६ | हेमराज शर्मा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा सङ्कलन गरिएकाे पाँच हजार बढी स्वाबको नमुना परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । 

विभिन्न जिल्लाबाट सङ्कलन गरिएको पाँच हजार चार सय १२ जनाको स्वाबको नमुना परीक्षणकाे लागि काठमाण्डौ पठाइएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयाे ।  

उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा नमुना परीक्षण गरिनेछ । विभिन्न क्वरेण्टीनमा बसेका तथा सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको नमुना पठाइएको निर्देशक अवस्थीले बताउनुभयाे । 

सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा चाप बढी भएपछि यसअघि दुई हजार ६६ जनाको नमुना पठाइएको थियो । यस्तै सङ्घीय सरकारले कोरोना परीक्षणकाे लागि स्वाब सङ्कलन गर्दा आवश्यक पर्ने भीटीएम पठाएको छ । 

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई हजार भीटीएम पठाएको जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पनि एक हजार भीटीएम खरिद गरेको उहाँले बताउनुभयाे । 

भीटीएम ल्याइएसँगै फेरि स्वाब सङ्कलनको काम आइतबारदेखि सुरु हुने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयाे । प्रदेश सरकारसँग भीटीएमको मौज्दात सकिएपछि पाँच दिनसम्म कोरोना परीक्षणकाे लागि स्वाब सङ्कलन हुन सकेको थिएन । तर पालिकाले भने भीटीएम खरिद गरेर स्वाब सङ्कलन जारी राखेका थिए ।

यसैबीच सुदूरपश्चिममा शनिबार थप एक सय ६३ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा ६९ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो ।

धनगढीको सेती प्रयोगशालामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको हो । त्यसमा कैलालीका २४, डडेल्धुराका २७, डोटीका ११, अछामका दुई, बैतडी र बझाङका दुई र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयाे।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा भएको परीक्षणमा डोटीका नाै महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष,  डडेल्धुराका पाँच महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतले बताउनुभयाे । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या नाै सय ४८ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया