मैले प्रतिरोधी क्षमता बढाउन आग्रह गरेको हुँ, पूर्वजका खोजहरुप्रति  मजाक नउडाउँ : प्रधानमन्त्री

 असार ७, २०७७ आइतबार १०:३९:५१ | रासस
unn.prixa.net

काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गर्नुभयो । विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीको प्रभाव भइरहेका बेला प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन त्यस्ता वस्तुको प्रयोग बढाउन आग्रह गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाउँ । आयुवर्दे र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढायौँ ।”

नेपाल योगको जननी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसै हिमवत्खण्डबाट सङ्गीत, नृत्य, योग र आयुर्वेदसहित असाधारण ज्ञान, अभ्यास र अनुसन्धान अगाडि बढको उल्लेख गर्दै गर्नुभयो । 

प्रधानमन्त्री ओलीले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग आज विश्वव्यापी भएको जनाउँदै यसले नेपालको इतिहास, सभ्यता र गौरवलाई झल्काउने बताउनुभयो । 

“व्यायाम, प्रणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मानव जातिको सर्वोपरी आकाङ्क्षा पूरा गर्ने अभियानमा हामी

लागिरहेका छौँ । मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।” प्रधानमन्त्री ओलीले नेपालको ऊर्वर, जीवनमय र औषधिमय प्रकृति भए पनि नेपाल गरिबीमा परेको कुरा अब स्वीकार्य नहुने भन्दै यसलाई अब बदल्नुपर्छ बदल्न सकिन्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “समृद्धिका गन्तव्यमा पुग्ने आधारसहितको सङ्कल्प हामीसँग छ । यसका लागि स्वास्थ्य अनिवार्य पूर्व शर्त हो, त्यसैले निरोगी नेपालको अभियान सञ्चालन गर्ने भनेका छौँ । आहार, व्यायाम र

आरामको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले योग र आयुर्वेदलाई अगाडि बढाऔँ ।”

त्यस अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकको लोकार्पण गर्नुभयो ।  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योग अध्यास र अध्ययनको क्रमको थालनी भएको बताउँदै निरोगी रहन यसलाई व्यापक बनाउन आग्रह गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले विमोचित पुस्तक राष्ट्रिय योग अभ्यासक्रमको प्रकाशनले योगलाई जस्वनपद्धतिमा ढाल्न सहयोग पुग्ने बताउनुभयो । 

शिक्षा मन्त्रालयका सचिव डा सञ्जय शर्माले राष्ट्रियस्तरमा योगको प्रयोगका सम्बन्धमा सरलीकृत व्याख्या गरेर पुस्तक प्रकाशन गरिएको जानकारी दिनुभयो । स्वामी आनन्द अरुणले कोरोना सङ्कटपछि विश्व पूर्ववत् अवस्थामा नरहने र मानसिक रोगी बढ्ने खतरा भएकाले मानसिक स्वास्थ्यतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले मानसिक समस्या भएमा शरीरको प्रतिरोधी क्षमता कमजोर हुने भएकाले योग र ध्यानलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया