प्लाष्टिकले छोपेर धरहराको संरक्षण !

 साउन १८, २०७५ शुक्रबार ७:२६:१३ | रासस
unn.prixa.net

काठमाडौं – तीन वर्षअघिको गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको ऐतिहासिक सम्पदा धरहराको भग्नावशेषमा प्लाष्टिकले छोपी संरक्षण गरिएको छ । 

तीन वर्ष बितिसक्दासम्म पुनः निर्माण गर्ने विषयमा सम्बद्ध  निकायले काम शुरु गर्न सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मै बनाउँछु मेरो धरहरा नारा दिनुभए पनि यसको पुनः निर्माणकाको काम शुरु हुन सकेको छैन । कहिले पुरातत्व विभागले त कहिले नेपाल टेलिकमले बनाउने भनिए पनि हालसम्म काम अघि बढ्न सकेको छैन ।   
    
बुधबार साँझ काठमाडौं महानगरपालिकाका कावा प्रमुख हरिप्रभा खड्गीले  भीमसेनस्तम्भको भग्नावशेषलाई प्लाष्टिकले छोपी संरक्षणको प्रयास गर्नुभयो । “वर्षाको समय छ, धरहरा निर्माणको समयमा प्रयोग भएका माटो, इँटालगायत सम्पूर्ण सामग्री ऐतिहासिक हुन्छन्, पुनःनिर्माण शुरु हुनुअघि बाँकी रहेको संरचनालाई घामपानीको असरबाट जोगाउन प्लाष्टिक ओढाइएको हो”, कावा प्रमुख खड्गीले भन्नुभयो । 

त्यसै क्रममा सम्पदा बचाऔँ अभियानकर्मी पछिल्लो समय कामपाले सम्पदा संरक्षणमा चासो दिन थालेको भन्दै खुशी भएका थिए ।  अभियानकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले भन्नुभयो, “१९९० सालमा पनि धरहरा भूकम्पका कारण भत्केको थियो, पुर्खाहरुले पहिले जस्तै बनाएर राख्नुभयो । त्यसपछि २०७२ सालमा पनि भूकम्पकै कारण पूर्ण रुपमा क्षति भएको छ, अब पनि ९० सालपछि निर्माण भएजस्तै निर्माण हुनुपर्छ ।”  

संविधानको धारा ३२ ले भाषा र संस्कृतिको सम्पदाको संरक्षणका बारेमा उल्लेख गरेअनुसार सम्पदाको पुनःनिर्माण हुनुपर्ने सम्पदाप्रेमीको माग छ । धरहरा १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप निर्माण गर्नुभएको हो ।

नब्बे सालको भूकम्पले धरहरा भत्किएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले नौ तलाको धरहरा निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ । उक्त धरहरा पनि पुनः विसं २०७२ को भूकम्पले पूर्ण नष्ट भएको छ । इँटा, चुन, मास र चाकुको मिश्रणबाट मुगलशैलीमा  धरहरा निर्माण भएको हो । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया