अनुमति विना चुनढुङ्गा लिन गएका टिप्परलाई स्थानीयले रोके : टिप्पर सडकमा, चालक क्वरेण्टीनमा

 असार ७, २०७७ आइतबार १८:३७:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – बङ्गलाचुली गाउँपालिकाले दर्जनाैँ टिप्पर नियन्त्रणमा लिएकाे छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमकाे बेला पनि कुनै समन्वय विना सिमेन्ट उद्योगकाे लागि चुनढुङ्गा लिन गएका दर्जनौँ टिप्परलाई गाउँपालिकाले नियन्त्रणमा लिएर ४६ जना चालकलाई क्वरेण्टीनमा राखेकाे छ ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले विज्ञप्ति निकालेर घोराही सिमेन्ट उद्योगले गाउँपालिकासँग कुनै समन्वय नै नगरि उद्योगको चुनढुङ्गा ढुवानी गर्न एकाएक सयौँ टिप्पर बङ्गलाचुली प्रवेश गराएको भन्दै रोक लगाएको जानकारी गराउनुभएको छ । 

कुनै सहमति विना गाउँपालिका प्रवेश गरेका दर्जनाैँ टिप्परलाई नियन्त्रणमा लिइएकाे र टिप्पर चालकहरुलाई बङ्गलाचुली गाउँपालिकाको क्वरेण्टीनमा पठाइएको छ । उनीहरुलाई १४ दिनसम्म क्वरेण्टीनमा राखिने गाउँपालिकाले जनाएको छ ।

लकडाउनकाे कारण चुनढुङ्गा ढुवानी नगरेको घोराही सिमेन्ट उद्योगले गाउँपालिकासँग कुनै सम्पर्क र सहमति विना आज सयौँ टिप्पर गाउँपालिका पठाइएको थियो । त्यसलगतै आफूहरुलाई स्वाथ्यमा चुनौती थपिने भन्दै स्थानीयले सडकमा आएर टिप्पर ​रोकेका थिए । 

घोराही उपमहानगरपालिका ४ काे गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगले बङ्गलाचुलीको तापाबाट चुनढुङ्गा ल्याउने गर्दछ । घोराहीदेखि तापासम्म दैनिक दर्जनौँ टिप्पर चुनढुङ्गा लिन जान्छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया