परदेशबाट फर्किएकालाई आत्मसम्मानको खाँचो

 असार ८, २०७७ सोमबार ११:१४:९ | विकास ढुङ्गाना र सुनीता मैनाली
unn.prixa.net

कोभिड १९ को महामारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु जोखिममा परेका छन् । रोजगारी गुमाउनु, श्रमको पारिश्रमिक नपाउनु, करार अवधि पूरा गरेर नेपाल फर्कने क्रममा भएका श्रमिक नेपाल फर्कन नपाउनु, आवासीय अनुमतिको अवधि सकिनु, बहिर्गमन अनुमति (Exit Permit) अबधि समाप्त हुनु, औषधि उपचार नपाउनु जस्ता समस्या श्रमिकहरुको सामान्य जस्तै छ । 

विशेषगरी वैदेशिक रोजगारीमा आबद्ध महिलाहरु बढी जोखिममा छन् । लामो समयदेखि नेपाल फर्कने आशा लिएर लाखाैं श्रमिकहरु विभिन्न गन्तव्य देशहरुमा बसिरहेका छन् । धरै अन्योल र समस्याबीच केही श्रमिकहरु प्राथमिकताको आधारमा नेपाल फर्किरहेका छन् । हुन त वैदेशिक रोजगार ऐन , २०६४ को दफा ७५ (१) बमोजिम सुविधा नपाएको कारणबाट कामदार  अलपत्र परी त्यस्तो कामदार स्वदेश फिर्ता हुनुपर्ने स्थिति आएमा सम्बन्धित इजाजतपत्रवालाले त्यस्तो कामदारलाई स्वदेश फिर्ता गराउनु भन्ने व्यवस्था रहेको छ ।

दफा ७५ (२) अनुसार नेपाली कामदार रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक बिपत्ती परी कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारीमार्फत कामदार फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने प्रवधान छ ।

त्यसैगरी दफा ७५ (२) अनुसार नेपाली कामदार रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक बिपत्ती परी कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारीमार्फत कामदार फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने प्रवधान छ ।

तर यस विषम परिस्थितिमा उल्लेखित कानुनको कार्यान्वयन जटिल हुँदाहुँदै पनि सरकार यसबाट पञ्छिन पक्कै पनि पाउँदैन । सरकारले उद्धार गरी नेपाल फर्काउने कुरा त परै जाओस् आफ्नै खर्चबाट नेपाल फर्कनेहरुको यात्रा पनि सुखद हुन पाएको छैन । हवाई भाडादरको मूल्य, उडानको समय परिवर्तन भइरहनु र फर्केर आएकाहरुले पनि विभिन्न समस्या खेप्नुले श्रमिकहरुमा निराशा थपेको छ ।

गएको शुक्रबार पत्रपत्रिका र अनलाइनमा एउटा समाचार सम्पे्रषण भयो । दुबईबाट १०१ जना महिला नेपाल फर्किएको । हेडलाइन नै यस्तो थियो मानौँ फर्केकामध्ये ९४ जना जो गर्भवती भनिएको छ, उनीहरु कसैको अनिच्छित गर्भाधारण गरेर आएका छन् । तर पढ्दै जाँदा कोही विदेशमा रहेका श्रीमानलाई भेट्न गएको र कसैको श्रीमान श्रीमती दुबै एकै देशमा काम गरिरहेको थाहा पाइयो । भलै यस्ता समाचारका शीर्षकहरुले गर्दा समाचार त बिक्यो होला । तर महिलाको आत्मसम्मान र भावनाको न हिजोको दिनमा कदर गरिन्थ्यो न त अहिलेको जस्तै महामारीको अवस्थामा । 

गर्भवती र सुत्केरी महिलाहरु कोरोना सङ्क्रमणको जोखिममा हुन सक्छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति सुत्केरी महिला हुनुहुन्थ्यो । विशेष शारीरिक अवस्थामा विशेष हेरचाह, सम्मान र मायाको आवश्यकता हुने कुरा कसैको लागि नौलो जानकारी नहोला ।

तर यस्तो अवस्थामा हामीले सेवा प्रवाह समयमै नगर्दा र गर्दा पनि प्रयोग गर्ने शब्द, हाउभाउ र आचरणले उनीहरुको भावना र आत्मसम्मानमा चोट पु¥याएको थुप्रै उदाहरण छन् । कतै अस्पतालले सुत्केरी व्यथा लाग्दा पनि भर्ना नलिने कतै गालीगलौज गर्ने जस्ता समाचारहरु सुन्नमा आइरहेकै छ । 

यस्तै अवस्था रह्यो दुबईबाट फर्किएका महिलाहरुको पनि । भर्खरै दुबईबाट फर्केकी एक महिलाको शब्द शापटी लिने हो भने उनीहरुले दुई दिनदेखि खाना खान पाएका छैनन् । होटलमा खान जाँदा पनि खाडी देशबाट आएकै कारण उनीहरुलाई सेवा दिइएन । बिमानबाट उत्रिसकेपछि होल्डिङ्ग सेन्टरमा केहीबेर राखेर पोखराका लागि हिँडेको बस झण्डै पाँच घण्टा कलंकीमा होल्ड गरेको, औषधि खान नपाएको उनीहरु बताउँछन् । 

पोखरा लैजान बाटोमा तनहुँको आर्मी क्याम्पमा पनि होल्ड गरिएको र त्यहाँको कर्मचारीले राम्रो व्यवहार नगरेकोे गुनासो छ । ‘सरकारले गर्न सक्दैन भने हामीलाई छोडिदिनुहोस्, हामी आफैँ व्यवस्था मिलाएर जान्छौँ’ एक जना गर्भवती महिलाले भनिन् । 

कोरोना परीक्षण गराई नेगेटिभ नतिजा आएपछि आफ्नो देश फर्कदा ठाउँ ठाउँमा विभेद र घृणा सहनुपर्दा उनीहरुको भावनामा चोट पुगेको छ । विदेशमा  जे जसो भयो सहनुपर्यो, तर नेपाल फर्किसकेपछि आफ्नै सुरक्षका लागि खटिएका सुरक्षाकर्मीले नै राम्रो व्यवहार नगर्दा प्रवासबाट फर्केका नेपाली चेलीको मन फाटेको छ ।

आफ्नो देशमा सुरक्षित भइन्छ, माया र सम्मान पाइन्छ भन्ने उत्साह साथ तय गरिएको यात्रा यस्ता भोगाइले गर्दा नमिठो भएको छ । विशेष अवस्थामा विशेष ख्याल नहुनु, खानपान, निद्रा आदि समयमै नहुँदा र तनाव बढ्दा महिलाको सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको हनन् भएको छ । 

आफ्नो देशमा सुरक्षित भइन्छ, माया र सम्मान पाइन्छ भन्ने उत्साह साथ तय गरिएको यात्रा यस्ता भोगाइले गर्दा नमिठो भएको छ । विशेष अवस्थामा विशेष ख्याल नहुनु, खानपान, निद्रा आदि समयमै नहुँदा र तनाव बढ्दा महिलाको सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको हनन् भएको छ । 

लकडाउन तेस्रो महिना पार गर्दै चौथो महिनामा प्रवेश गर्दैछ । देशमा सङ्क्रमितको संख्या दिनहुँ बढ्दो छ । मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि हुनु नेपालको लागि नौलो होइन ।

देशका प्रधानमन्त्रीज्यू सांसदमा बेसारको गुनगान र प्रशिक्षण दिनुहुन्छ  । तर लकडाउन सुरु भएको यतिका महिना बितिसक्दा पनि कसरी लैंगिकमैत्री क्वरेण्टीनको व्यवस्थापन गर्ने, प्रवासी नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउने भन्नेबारे सरकारको चासो र संवेदनशिलता देखिंदैन । यो अकर्मण्यता केन्द्रमा मात्र होइन, स्थानीय स्तरमा पनि देखिन्छ । 

विदेशबाट फर्कनेहरुको संख्या अझ धेरै नै छ । त्यसमा महिलाहरु पनि पर्छन् । त्यसैले राम्रो व्यवस्थापनको लागि सरकारले सरोकारवालाहरुको नक्सांकन गर्ने, उनीहरुको क्षमता र विज्ञताको आधारमा सहयोग माग्ने, परिचालन गर्ने काम युद्ध गतिमा गर्नुपर्ने हुन्छ ।

अझ विशेष गरी महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको व्यस्थापनमा विशेष ख्याल राख्नुपर्छ । अहिले क्वरेण्टीनहरु त छन्, तर सरकार आफैंले बनाएको मापदण्ड अनुसारको भने प्रायः छैन ।

त्यसैले लैंगिकमैत्री क्वारेण्टीनको व्यवस्थापनलाई बलियो बनाई सबै नागरिकहरुको मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्नु सरकारको अहिलेको मुख्य कार्य देखिन्छ । त्यसमा नागरिक समाज र सबै संघसंस्थाले सरकारलाई सहयोग गर्न जरुरी छ । हामी सबैको व्यवहार लैङ्गिक मैत्री र भेदभावरहित हुन पनि त्यत्तिकै महत्वपूर्ण छ ।

अन्तिम अपडेट: असार २७, २०७७

विकास ढुङ्गाना र सुनीता मैनाली

ढुङ्गाना प्रवासी नेपाली समन्वय समिति र मैनाली ओरेकनेपालको जिल्ला संयोजक हुनुहुन्छ ।

1 Comments

  • Kul Prasad karki

    June 22, 2020, 11:50 a.m.

    वैदेशिक रोजगारी वा विदेशमा अलपत्र महिलाहरूको समस्यामा सावधानी नअपनाएको कारणले महिला अझै गर्भवतीहरू कोरोना र सामाजिक दुवै महामारीमा पर्नु भएको र यसको राज्यको तर्फबाट स्पष्टिकरण गर्नु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया