'भौतिक दुरी कायम गरिदिनुस’ भन्दै व्यवसायीको ढोकामा सीडीओ

 असार ९, २०७७ मंगलबार ११:२५:२० | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भौतिक दुरी कायम गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

बजारमा भिडभाड बढेपछि प्रमुख जिल्ला अधिकारी थापाले भौतिक दुरीसहित मास्क, सेनिटाईजर अनिवार्य राख्न बजार पसलका व्यापारीहरुलाई आग्रह गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो,‘कोराना भाइरस फैलँदो क्रममा छ । हेलचेक्राईं नगरौँ । आफू बचौँ, अरुलाई बचाऔँ । भौतिक दुरी कायम गरौँ ।’

उहाँले भौतिक दुरी दुई मिटरको राख्नुपर्ने, मोटरसाइकलमा एक जना मात्रै हिँड्नुपर्ने, अत्यावश्यक कामका लागि मात्रै बजारमा जाने, साबुनपानीले अनिवार्य हात धुने, मास्क सेनिटाईजर अनिवार्य प्रयोग गर्ने, होटलमा बसेर चिया नास्ता नखुवाउने जस्ता नियम पालना नगरेकोले आफैं सम्झाउन हिँडेको बताउनुभयो । अब फेरि नियम पालना नगरे कारबाही हुने पनि उहाँले चेतावनी दिनुभएको छ । 

जुम्लामा पछिल्लो अवस्थामा कोरोन सङ्क्रमित निको भएर घर फर्किएपछि र क्वरेण्टीनमा बसेका धेरैको नतिजा नेगेटिभ आएपछि लकडाउनको स्वरुप बदलिएको छ । सरकारी कार्यालय, विभिन्न संघसंस्था र बजार खुलेका छन् । 
तर स्वास्थ्य सुरक्षा सावधानी नअपनाईएकोले समस्या आउन सक्ने भन्दै स्थानीय प्रशासनले अनुगमन गरेर बजारमा कोरोना रोकथाम गर्न भौतिक दुरी अनिवार्य कायम राख्न निर्देशन दिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापा सहित सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योग बाणिज्य संघ र स्वास्थ्यकर्मी तथा पत्रकारहरु सहितका सरोकारवाला निकायहरु सहभागी भएका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया