अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धार उडान

 असार ९, २०७७ मंगलबार १३:१४:१२ | रासस
unn.prixa.net

काठमाण्डौ – देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न देशबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले विदेशमा रहेका नेपालीको स्वदेश फिर्तीका लागि ‘उद्धार उडान’ गर्दैछन् । 

जजीरा, कतार, कोरियनलगायत एअरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गर्ने जनाइएको छ । अष्ट्रेलिया, कतार, कुवेतलगायत देशबाट आज पनि नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कदैछन् ।आजमात्रै अन्तर्राष्ट्रिय नौ र आन्तरिकतर्फ आठ उडान हुने विमानस्थलले जनाएको छ ।

नेपाल एअरलाइन्सले अष्ट्रेलियाको सिड्नीबाट २७५ नेपाली काठमाण्डौ ल्याउँदैछ । गएराति सिड्नी उडेको नेपाल एअरलाइन्सको वाइड बडी जहाज उताबाट यात्रु भरेर काठमाण्डौका लागि उडिसकेको छ । एअरलाइन्सको अन्य देशबाट पनि उडान गर्ने तालिका छ ।

आज हिमालय एअरलाइन्सले दोहाबाट पहिलो चरणको दोस्रो उडानबाट १४५ नेपाली स्वदेश फर्केको कतारस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

कोभिड– १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपाली भएको दूतावासले उल्लेख गरेको छ । नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरुप पहिलो चरण अन्तर्गत दोस्रो उडानमार्फत दोहाबाट काठमाण्डौका लागि हिमालय एअरलाइन्सको उडानबाट १४५ नेपाली फर्किएको जनाएको छ । यी उडानमा एक गर्भवतीसहित ६१ महिला र ८४ पुरुष रहेको दूतावासले जनाएको छ ।

एयरलाइन्सले आज कुवेतबाट नेपालीको उद्धार उडान गरी काठमाण्डौ ल्याउने कार्यतालिका छ । चार दिनयता दैनिक १० वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सोमबार अन्तर्राष्ट्रियमा १० र आन्तरिकमा सात उडान भएका थिए । 

आइतबार दुबैगरी १६ र शनिबार १५ उडान भएको विमानस्थलले जनाएको छ । विदेशबाट नेपाली उद्धारका लागि बाक्लो सङ्ख्यामा चार्टर्ड उडान भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । यो प्रक्रिया जुन महिनाभर चल्नेछ । 

नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले जुन महिनाभरका लागि उडान तालिका सार्वजनिक गरिसकेका छन् भने विभिन्न देशबाट हुने उद्धार उडानको पनि तालिका बनेको छ । विभिन्न देशमा अलपत्र नेपाली ल्याउन नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज प्रयोग भएका छन् । सरकारले विभिन्न देशमा अलपत्र झण्डै ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलाइन्सलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एअरलाइन्सलाई उडान अनुमति दिइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया