दुर्घटना रोक्न सडकका खाडल पुर्दै ट्राफिक प्रहरी

 असार १०, २०७७ बुधबार ८:५०:२६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – घोराहीको मुख्य सडकको कालोपत्र उप्किएर जीर्ण बनेपछि ट्राफिक प्रहरीले सडकमा  खाडलहरु पुर्न थालेको छ । वर्षातको समयमा जीर्ण सडकले दुर्घटना बढाउने भएपछि ट्राफिक प्रहरीले सडकका खाडलहरु पुर्न थालेको हो ।

घोराही–तुलसीपुर सडक खण्डका विभिन्न ठाउँमा कालोपत्रे उप्किएर ठूल्ठूला खाडलहरु परेपछि हुन सक्ने दुर्घटनाको उच्च जोखिमलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले खाडलहरु पुर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघसँस्थाको समन्वयमा  सडकमा परेका खाडलहरु पुर्ने अभियान सुरु गरेको हो । अभियान अन्तर्गत घोराही तुलसीपुर चोक, डिके पेट्रोल पम्प, सेवारखोला, गर्जेखाला, संक्रम खोला लगायतका ठाउँमा खाडल पुर्ने काम भइरहेको छ ।

खाडल परेका सडकहरुमा ग्राबेल गरेर सडक मिलाउने काम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो । प्रमुख रेग्मीका अनुसार घोराही र तुलसीपुर बजारसँगै घोराही–तुलसीपुर सडक खण्डका थुप्रै ठाउँमा रहेका यस्ता खाडलहरु पुर्ने काम भइरहेको छ ।

बिग्रिएको सडक बनाउने काम सडक कार्यालयसँगै सम्बन्धित पालिकाहरुको भए पनि ती निकायहरुले नगर्दा ट्राफिक प्रहरी आफैंले गर्नुपरेको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताउनु भयो ।

‘वर्षातको समयमा पानी पर्दा खाडल र सडकको सतह एकै देखिने हुँदा दुर्घटनाको जोखिम बढी हुने गर्छ’ उहाँले भन्नुभयो, ‘खाडलकै कारण दुर्घटना नहोस् भनेर पुर्न थालेका हौं ।’ 

ट्राफिक प्रहरी कार्यालयले थालेको सडकका खाडल पुर्ने काममा घोराही उप–महानगरपालिका, फोरलेन सडक बिस्तार गर्ने जिम्मा पाएको निर्माण कम्पनी, टिप्पर व्यवसायीहरूले साथ दिएका थिए । ट्राफिक प्रहरीको आग्रहमा फोरलेन सडक बिस्तार आयोजनाले ग्राबेल उपलब्ध गराइदिएको हो ।

यसैगरी टिप्पर व्यवसायीहरूले टिप्पर उपलब्ध गराइदिएका थिए भने घोराही उपमहानगरपालिकाले ग्राबेल दाब्ने रोलर उपलब्ध गराइदिएको प्रहरी प्रमुख रेग्मीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • jonesfb nepalili (जोन्सेफबि नेपालीली)

    June 24, 2020, 9:37 a.m.

    समाचार पढ्दा पनी अचम्म लाग्छ बिचरा "दुर्घटना रोक्न सडकका खाडल पुर्दै ट्राफिक प्रहरी" कहाँ गयो नेपाल सरकार? भन्ने बेलामा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार के सरकार चाही खरिद प्रकृयामा कमिशन खान र आफ्ना नाता गोतालाई जागीर खुवाउन र ट्रिपर, डोजर अनी ट्याक्टर अनि ठेग्गापट्टा मिलाउनकै लागी मात्र हो। कती गर्ने सुरक्षा फौजले सिमानाको रक्षा, सुरक्षा फौजले सुरक्षा गर्यो नेताले हस्तान्तरण गर्छन यस्तो छ नेपालका देश बनाउने नेता ज्यू हरु।

  •  0 Reply

तपाईको प्रतिक्रिया