साेती घटना : वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षकाे लागि थुनामा पठाउन आदेश

 असार १०, २०७७ बुधबार २०:९:६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको सोती घटनाका आरोपीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले पुर्पक्षकाे लागि थुनामा पठाएको छ ।

आज थुनछेक बहस सकिएपछि वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षकाे लागि कारागारमा पठाउन आदेश दिएको जिल्ला अदालत रुकुमले जनाएको छ । जिल्ला न्यायाधीश विद्याराज पाैडेलकाे इजलासले पुर्पक्षकाे लागि थुनामा पठाउन आदेश दिएकाे हाे ।

साेती घटनामा २९ जना पक्राउ परेकोमा अदालतले दुई जनालाई गएको साेमबार नै सुधार गृहमा पठाउन आदेश दिएको थियो भने तीन जनालाई तारेखमा र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । घटनामा ३४ जनाविरुद्ध किटानी जाहेरी परेकोमा पाँच जना फरार रहेका छन् ।

गएकाे जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया