सीमा क्षेत्रका नेपाली स्याउलाले छेकबार गरेर बाली जोगाउँदै

 असार ११, २०७७ बिहिबार १०:४१:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले स्याउलाले बार लगाएर बाली जोगाउने गरेका छन् ।

दुई देशको सीमा छुट्याउने कुनै पर्खाल छैन । भएका सीमा स्तम्भ सबै मर्मत भएका छैनन् । भारतीय क्षेत्रमा घना जंगल छ । त्यहाँका जनावर नेपालतर्फ आएर बालीनाली खाईदिन्छन् ।

सीमामा कुनै छेकबार नभएपछि स्याउलाले बारिएको खेतपातीसँगै सिमाना जोगाउने काममा लागेको राजपुर गाउँपालिका वडा नं। ७ भौवा निवासी श्यामबहादुर झाँक्रीले बताउनुभयो ।

‘हामी बसेदेखि सीमा मिचिएको त छैन । तर पुराना भएका सीमा स्तम्भ मर्मत भएका छैनन्’ झाँक्रीले भन्नुभयो, ‘देशको सीमा छुट्याउने आधार सीमा स्तम्भ हो, योबाहेक अरु केही पनि संरचना छैनन्, भएका सीमा स्तम्भ समेत जीर्ण बनेका छन् ।’ 

भौवा नाका क्षेत्रका सबै बासिन्दाले स्याउलाको छेकबार गरेर खेतीपातीको काम गरिरहेका छन् ।

दाङ क्षेत्रमा नेपाल र भारतको सिमाना छुट्टाउने सीमा स्तम्भ जीर्ण बनेका हुन् । कुल ७७ वटा सीमा स्तम्भमध्ये दुवै देशले करिब एक वर्ष अगाडि नै ६० वटा सीमा स्तम्भ मर्मत गरे पनि १७ वटा सीमा स्तम्भको अझै मर्मत हुन सकेको छैन।

दुवै देशले सीमा स्तम्भ मर्मत गर्ने कानुनी प्रावधान छ । जोर र बिजोर नम्बरका आधारमा सीमा स्तम्भ मर्मत गर्नुपर्ने हो । तर अझै १७ ओटा सीमा स्तम्भ मर्मत हुन बाँकी रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया