पीसीआर परीक्षण सकसपूर्ण बन्दै : १५ दिनपछि स्वाब सङ्कलन, रिपोर्ट आउन १५ दिनभन्दा बढी लाग्ने

 असार ११, २०७७ बिहिबार २०:१८:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – स्वाब सङ्कलन गरेको दुई हप्ताभन्दा बढी भइसक्दा पनि रिर्पोट नआउँदा दाङमा कोरोनाको पीसीआर परीक्षण सकसपूर्ण बन्दै गएको छ । 

भारतबाट फर्किएकाहरुलाई जिल्लाका पालिकाहरुले वडास्तरमा बनाएका क्वरेण्टीनमा राखिएको छ । लामो समयसम्म क्वरेण्टीनमा बसेकाहरुकोे पीसीआर रिर्पोट नआउँदा निरोगी पनि सङ्क्रमित हुन सक्ने त्रासमा बसिरहेको पीडितहरु बताउँछन् । क्वरेण्टीनमा सँगै बस्ने भएका कारण एक जना मात्रै सङ्क्रमित भए पनि सबैलाई सार्न सक्ने उनीहरुको गुनासाे छ । 

समयमै स्वाब परीक्षण नहुँदा धेरैजसो एक महिनाभन्दा बढी समयसम्म क्वरेण्टीनमा बसिरहेका छन् । क्वरेण्टीनमा बसेका धेरैजसोको १५ दिनपछि स्वाब सङ्कलन हुने र रिर्पोट आउन थप १५ दिनभन्दा बढी लाग्ने गरेको पालिकाहरुले जनाएका छन् । यो बीचमा क्वरेण्टीनमा बसेकाहरुले छिट्टै रिर्पोट ल्याइदिन आफूहरुलाई दबाब दिने गरेको वडाध्यक्षहरु बताउँछन् ।

जिल्लाका सबैको पीसीआर परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुँदै आएको छ । पहिलेकाे राप्तीका सबै जिल्ला र कर्णाली प्रदेशका केही जिल्लाको नमुना परीक्षणकाे लागि आउने हुँदा रिर्पोट आउन समय लाग्ने गरेको प्रतिष्ठानले जनाएको छ ।

जिल्लाका क्वरेण्टीनमा अझै पनि  तीन हजारभन्दा बढी व्यक्तिहरु बसिरहेका छन् । ती सबैको स्वाब सङ्कलन भएको छैन, स्वाब सङ्कलन भएकाहरुको पनि रिर्पोट आइसकेको छैन । रिर्पोट आउन ढिलाइ भएकै कारण क्वरेण्टीनमा १५ दिन बिताएर घर गएको चार दिनपछि पोजिटिभ रिर्पोट आएर आइसोलेशनमा जानुपरेको घटना पनि देखिएका छन् ।  

अहिलेसम्म क्वरेण्टीनमा बसेका भन्दा बाहिरका व्यक्तिहरुको पीसीआर परीक्षण नै भएको छैन । स्वाब सङ्कलन गरेको १६ दिनपछि पोजिटिभ रिपोर्ट आएर दुई जना वडाध्यक्ष सिधै आइसोलेशन सेन्टरमा गएका छन् । 

रिर्पोट नआउँदासम्म उनीहरु कार्यालयको दैनिक काममा खटिरहेका थिए । यसबीचमा उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नै समस्या भएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • दिल मगर

    June 25, 2020, 8:53 p.m.

    दाङ्ग राजपुर गाउँपालिकाको हालत झन नाजुक छ, त्यहाँ पनि भारतवाट आएका नागरिकहरु छन तर एउटा मास्क सम्म उपलब्ध छैन / वडा अध्यक्षहरु क्वारेन्टाइन सम्म त पुग्दैन्न अनि स्वाब परिक्षण को रिपोर्ट कहाँ बाट आउँछ ? पहल गर्नु पर्यो ९०% सबै किसानी हुन, अहिले बर्खा लाग्यो, धमा धम खेती गर्ने समय छ , गरिब हरुलाई क्वारेन्टाइन मा राखेर कोरोना भन्दा पनि भोक ले मार्न खोजेको हो कि के हो ? अब रिपोर्ट कुर्नलाई दाङ्गमा मात्र परिक्षण हुने हुदा त गरिब त तेतिकै मर्छ होला नि / एउता उखान भन्न मन लाग्यो मर्नु भन्दा बौलाउन जाती /कतै ती नागिरिक कति दिन सम्म क्वारेन्टाइन मा बस्ने ? सरकारको नियम कहिले सम्म पालना गर्ने ? भोलिको दिन मा कोही भोकले अथवा अन्य कुनै रोगले मर्ला ? के कोरोना लागेर मर्यो भन्नी ? अब नागरिक त्रासमा छन् , प्लिज सम्बन्धित निकायको ध्यान जावस /

  •  0 Reply

तपाईको प्रतिक्रिया