हङकङ सुरक्षा कानुन : चिनियाँ अधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने घोषणा

 असार १३, २०७७ शनिबार १३:२९:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको घाेषणा गरेका छन् । हङकङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएका चिनियाँ अधिकारीहरुलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ । 

विदेश मन्त्री पोम्पियोले यो प्रतिबन्ध ‘वर्तमान र पूर्व’ पार्टीका अधिकारीप्रति लक्षित भएको बताएका छन् । 

हङकङको स्वायत्तताविरुद्ध चीनले ल्याउन लागेको सुरक्षा कानुनको लागि उसलाई दण्डित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अनुसार यो निर्णय भएको उनले बताए । 
चीनले भने अमेरिकाको निर्णय ‘गलत’ भएको र फिर्ता लिनुपर्ने बताएको छ ।

चिनियाँ संसदको बैठकको अघिल्लो दिन अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई आफ्नो देश प्रवेश गर्न प्रतिबन्ध लगाएको हो । 

नेशनल पिपुल्स कांग्रेसको स्थायी समिति बैठक आइतबारदेखि सुरु हुँदैछ, यो बैठकमा हङकङको लागि बनाइएको नयाँ कानुनको बारेमा चर्चा हुने बताइएको छ ।  

चीनले प्रस्तावित गरेको नयाँ कानुनमा हङकङमा चिनियाँ अधिकारविरुद्धका गतिविधि अपराध मानिने र बेइजिङले हङकङमा आफ्नो सुरक्षा निकाय स्थापित गर्न सक्नेलगायतका प्रावधानहरु समेटिएका छन् । 

यही प्रस्तावित कानुनलाई लिएर हङकङमा चीनविरुद्ध नारा लगाएर प्रदर्शन गर्ने अभियान चलिरहेको छ । 

शुक्रबार पोम्पियोले दिएको बयानमा अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको चिनियाँ अधिकारीहरुको नाम उल्लेख गरिएको छैन । अमेरिकाको यो घोषणापछि चीनले आफ्नो धारणा सार्वजनिक गरेको छ । 

ट्विटरमा पोस्ट गरिएको एक विज्ञप्तिमा चिनियाँ दूतावासले भनेको छ, ‘हामी अमेरिकी पक्षसँग आफ्नो गल्ती सुधार गर्न र निर्णय फिर्ता लिन आग्रह गर्दै चीनको घरेलु विषयमा हस्तक्षेप बन्द गर्न आग्रह गर्दछ ।’  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया