चितवन आइपुग्यो सलह

 असार १४, २०७७ आइतबार १३:५:५६ | रासस
unn.prixa.net

चितवन – पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह किरा देखिएकाे छ ।

कालिका नगरपालिका ३ को दुई सय बिघा भन्ने ठाउँकाे ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा सलह देखिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सलहकाे सानो झुण्ड वनतर्फ गएको छ ।

यस क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र नगरपालिकाका कृषि प्राविधिकले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । यसैगरी शनिबार साँझ खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी स्थानीय कृषि प्राविधिकले गराएको उहाँले बताउनुभयो । उहाँले जिल्लामा कहीँ सलह देखिएमा तत्काल खबर गर्न अनुरोध गरिएको जानकारी दिनुभयो । यससँगै भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रमा सलह फाट्टफुट्ट देखिएको भन्ने जानकारी केन्द्रमा आएको जनाइएको छ ।

केन्द्रका प्रमुख राजन ढकालले आजै वाग्मती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बैठक बस्न लागेको बताउनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद्, परियोजना, केन्द्रलगायत संस्थाका विज्ञ र मन्त्रालयका उच्च अधिकारीका बीचमा याे विषयमा छलफल हुने जनाइएको छ ।

उहाँले मकै बाली तत्काल थन्क्याउन, चैते धान यथाशीघ्र काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन, तरकारीका बेर्ना जोगाउन कृषकलाई अपिल गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सम्बन्धित कार्यालयका प्रमुखलाई किरा रोकथाममा तत्काल जुट्न र के–कस्तो सहयोग आवश्यक पर्छ भन्न निर्देशन दिइएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया