सीमामा सशस्त्रको उपस्थिति बढाइँदै

 असार १५, २०७७ सोमबार ७:३२:३६ | रासस
unn.prixa.net

काठमाण्डाै – सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ ।

पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बीओपी) स्थापना भइसकेका छन् । गएको मङ्सिरदेखि अहिलेसम्म २५ चौकी स्थापना भइसकेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशभर कूल १३२ स्थानमा चौकी स्थापना भइसकेका मन्त्रालयले जनाएको छ ।

हालै सशस्त्रले चीनतर्फका नाका हुम्लाको हिल्सा, सङ्खुवासभाको किमाथाङ्का, मुस्ताङको लोमान्थाङ्मा बिओपी स्थापना भइसकेका छन् । यस्तै त्रिदेशीय नाकाका रुपमा रहेको दार्चुलाको छाङरुमा समेत बिओपी स्थापना गरिसकेको छ । वि।सं २०७५ मा ८६ स्थानमा सीमा सुरक्षा चौकी थियो । त्यसपछि अहिलेसम्म ४६ स्थानमा चौकी स्थापना भइसकेका छन् ।

सरकारले गत वर्षको मङ्सिर २३ गते थप ११४ चौकी स्थापना गर्ने निर्णय गरेपछि दक्षिणतर्फ २१ र उत्तरतर्फको सीमा क्षेत्रमा चार गरी २५ वटा बिओपी थपिसकिएको गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म दक्षिणतर्फ १२८ र उत्तरतर्फ चार बीओपी स्थापना भएका छन् । 

सरकारले पहिलो चरणमा २२१ चौकी स्थापना गर्ने योजनाका साथ काम तीव्र पारिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलका अनुसार सीमा क्षेत्रमा ५०० बीओपी बनाउने योजना अघि बढाइएको छ । त्यसअनुसार पहिलो चरणमा २२१ स्थानमा चौकी स्थापना गर्नेक्रमअन्तर्गत अझै ८९ स्थानमा चौकी स्थापना गर्नुपर्ने आवश्यकता छ ।

चौकी स्थापनाका लागि सशस्त्र प्रहरीले गृह मन्त्रालयमा कार्ययोजनासमेत पेश गरिसकेको छ । कार्य योजनाअनुसार चौकी स्थापना गर्न नौ हजार सशस्त्र प्रहरी आवश्यक हुने जनाइएको छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया