बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
नेपालभित्रै जन्मेका, नेपाली आमाबुवा भएका हजारौँ युवाहरु अहिले पनि नागरिकता पाउनबाट बञ्चित छन् । कसैलाई बुवाले त्यागेको हुन्छ, आमाले स्वाभिमानका साथ हुर्काएका हुन्छन् । उनीहरुले आमाको नामबाट नागरिकता लिन चाहेका छन् तर पाउन सकेका छैनन् ।
कसैको आमा नेपाली, बुवा विदेशी छन् । तर नेपालमै हुर्केबढेका र पढेका उनीहरु नेपालमै बस्न चाहन्छन्, नागरिकता पाएका छैनन् । सङ्घ संस्थामा हुर्किरहेका युवाहरु, बालमन्दिरमा रहेका युवाहरु अझै राज्यविहीन अवस्थामा छन् ।
हाम्रो सम्पर्कमा यस्तै समस्या भएका दुई–तीन हजार बढी युवाहरु होलान् । हामीले नागरिकताविहीन कति छन् भन्ने यकिन तथ्याङ्क निकालेका छैनौँ । तर हाम्रो सम्पर्कमा रहेका नेपाली युवाहरुका समस्या भने निकै छन् । एफडब्ल्युएलडी (फोरम फर वुमन, ल एण्ड डेभलेपमेन्ट) का अनुसार ४६ लाखसँग नागरिकता छैन ।
नागरिकता नहुँदा समस्या
नेपालमा खानदेखि बस्नसम्मको काममा पनि नागरिकता आवश्यक पर्छ । नागरिकता छैन भने उसका लागि सबै बाटाहरु नै बन्द हुन्छन् ।
यात्रा गर्नुपर्याे, नागरिकता चाहिन्छ । पढेर सर्टिफिकेट निकाल्नुपर्याे, नागरिकता चाहिन्छ, कुनै काम गर्नुपर्याे, नागरिकता चाहिन्छ । हुँदाहुँदै काठमाण्डौमा कोठा भाडामा बस्नुपर्याे, घरबेटीले नागरिकता नै माग्छ । त्यसैले नेपालमा नागरिकता विना सास फेर्न पनि गाह्रो पर्छ भन्दा फरक नपर्ला ।
पढाइ सकेर केही काम गरौँ भन्ने बेला नागरिकता नहुँदा त्यत्तिकै बस्नु परेको छ । पढेर पनि धेरैजसोले प्रमाणपत्र पाउन सकेका छैनन् । जसले गर्दा युवा पुस्तालाई मानसिक असर परेको छ । धेरैजसो मानसिक समस्यामै परेका छन् ।
यस्तो असरले समाजमा नराम्रो रुप लिन सक्ने देखिन्छ । यही समस्यालाई रोक्न पनि अहिले आएको नागरिकताको विधेयक पास हुनैपर्छ ।
अलमल्याउने काम मात्र भयो
कति वर्षसम्म संविधान नहुँदा नागरिकता पाउन गाह्रो भयो । संविधान आउन लामो समय लाग्यो । त्यतिबेलासम्म हजारौँले अनागरिक भएर बस्नुपर्याे ।
संविधान बनिसकेपछि अब विधेयक बन्नुपर्छ भन्ने कुरा भयो । त्यसका लागि कुरेर बस्यौँ । बीचमा नागरिकतासम्बन्धी विद्येयक आयो, पास हुन सकेन । फेरि अहिले आएको विधेयक असमान र विभेदपूर्ण भयो भन्दै विधेयक पास हुन नदिने आवाज सुुनिन थालेको छ ।
हिजो पनि हाम्रो पीडा कसैले सुनेन । फेरि अब पनि हाम्रो पीडाको सुनुवाइ हुन नसक्ने हो कि भन्ने पीर परेको छ । तर यस्तो नहोस् भन्ने हाम्रो कामना हो ।
विधेयक पास हुन दिनुहोस्
नेपालका अनागरिकहरुको लागि भए पनि अहिलेको नागरिकता विधेयक पास हुनुपर्छ । योे विधेयक पास भएपछि नेपालमा कम्तीमा पनि राज्यविहीनताको अवस्था कम हुन्छ ।
यति कुरा सबै नेपालीले बुझिदिनुपर्याे । राज्य विहीनताको अवस्था आइसकेपछि समानताको कुरा त छँदैछ । हामीले पछि पनि यो आवाज निकाल्न मिल्छ । पूर्ण समानता आएको छ भनेर त हामीले पनि भनेका छैनौँ र मानेका पनि छैनौँ ।
पूर्ण समानताको नाममा कुनै नागरिकले राज्यविहीन हुनुहुँदैन । नेपालमै जन्मेकाहरुको शरणार्थीहरुको जस्तो जीवन पनि बन्न सकेन ।
शरणार्थीहरु त अरु देशबाट बिस्थापित भएर आएका हुन् । उहाँहरुसँग पनि आफ्नो केही न केही परिचय छ भने हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी यही देशको भएर पनि राज्यविहीन भएका छन् ।
समानताको लागि सँगै लडौँला
समानता हाम्रो मुख्य विषय हो । यो सधैँ रहन्छ । अहिले चाहिँ मानव अधिकार नै हनन हुने अवस्था आएको छ ।
यो अवस्था अन्त्यको लागि हामीले के गर्न सकिन्छ, राजनीतिज्ञदेखि लिएर अधिकारकर्मी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले ध्यान दिनैपर्छ ।
म सबैसँग के अनुरोध गर्छु भने अहिलेको नागरिकता विधेयक पास हुन दिनुहोस् । हाम्रो युवा पुस्तालाई मृत्युको मुखबाट बचाउनुहोस् ।
नागरिकता नपाएरै धेरै नेपाली युवाहरु छटपटाइरहेका छन् । उनीहरुलाई राहत दिउँ । त्यसपछि अरु समानताको कुरा गरौँला ।
विदेशी बुहारी र ज्वाइँका कुरा छन् । त्यो त संविधानमा गएर लड्ने हो नि । यो विधेयकले दिन सक्ने पनि हैन । यो विधेयकलाई जसरी पनि पास हुन दिनुपर्छ ।
खल्तीमा नागरिकता बोकेर आन्दोलन नगर्नुहोस्
हामीले साँच्चै पीडितहरुको लागि लडेको हो, उनीहरुले राहत पाउनुपर्छ भन्ने सोच हो भने यो विधेयकलाई पास हुन दिउँ ।
अहिले जसले नागरिकता विभेदकारी भयो भन्दै आवाज उठाइराख्नु भएको छ, उहाँहरुको खल्तीमा नागरिकता छ ।
म फेरि पनि भन्छु, हामीलाई समानता नचाहिएको हैन । तर त्यसको बली कसलाई चढाउने त ? जसको नागरिकता छैन, अन्यायमा परेको छ, जो चाहिँ एकदमै समस्यामा छ, जसको आवाज आउनसकेको छैन, सबैभन्दा पीडामा, अन्यायमा त उहाँहरु पर्नुभएको छ ।
जसको खल्तीमा नागरिकता छ, उहाँहरुलाई के फरक पर्छ । उहाँहरुले यो विधेयक फेरि दुई–चार वर्ष अड्काइदिन सक्नुहुन्छ । तर त्यसको असर कहाँ र कसलाई पर्छ यो पनि सोच्नुपर्यो ।
जोखिमपूर्ण दुर्घटना हुन सक्छ
तपाईँले सुन्नुभएको छ, नागरिकता नहुँदा फलानो गाउँको युवाले आत्महत्या ग¥यो । अहिले त आत्महत्या मात्र छ, भोलि अर्को किसिमको दुर्घटना होला यसतर्फ ध्यान कसले दिने ?
त्यसैले यदि पीडितको लागि लडेको हो भने यसपालि विधेयक पास हुन दिनैपर्छ । बरु यसलाई कसरी पास गर्न सकिन्छ यसमा ध्यान दिउँ ।
देशका नागरिकले अनागरिक भइ कति बाँच्ने ? कति अल्झाउने ? यस्ता गतिविधिले पक्कै पनि फाइदा पुग्दैन ।
(नागरिकताबाट प्रभावितहरुको सञ्जालकी संयोजक गुरुङसँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुरुङ नागरिकताबाट प्रभावितहरुको सञ्जालकी संयोजक हुनुहुन्छ ।