व्यवसायीलाई हतोत्साही गर्ने, असहयोग गर्ने सरकारको नियत छैन : प्रधानमन्त्री

 असार १५, २०७७ सोमबार १८:४२:१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा नै सरकार अगाडि बढ्ने भएकाले कुनै पनि प्रकारको द्विविधा नराख्न स्पष्ट पार्नुभएको छ । नेपाल उद्योग परिसङ्घको १७ औँ वार्षिकोत्सव समारोहलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत नभएको बताउनुभएको छ ।

उहाँले निजी क्षेत्रसँग मिलेर नै सरकारले आफ्ना गतिविधि अगाडि बढाउने भएकाले व्यवसायीलाई अप्ठ्यारो बनाउनेतर्फ सोच्न पनि नसकिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले उद्योगी तथा व्यवसायीको भूमिकाको समेत सरकारले कदर गर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, 'देशको विकास र समृद्ध नेपालको प्रयासमा हामी मिलेर नै अगाडि बढ्ने हो । सरकारको नियत हतोत्साही गर्ने, असहयोग गर्ने नीति नै छैन । त्यस्तो विषयमा सोच्नसमेत सकिँदैन ।' 

कोरानाकाे कारण अर्थतन्त्रमा परेको सङ्कटबाट कसरी बचाउने, पुनर्उत्थान गर्दै भावी रणनीति तय गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरेकामा प्रधानमन्त्रीले परिसङ्घलाई बधाइ तथा शुभकामनासमेत दिनुभयो । सन् २००३ मा स्थापना भएको परिसङ्घले नेपालको उद्योग, उत्पादनमूलक एवं सेवाका क्षेत्रका महत्वपूर्ण काम गरेको र अर्थतन्त्रलाई माथि उठाउन पुर्‍याएको योगदान सराहनीय रहेको तथा क्षेत्रीय र अन्तरराष्ट्रियस्तरमा समेत आफ्नो छवि स्थापना गरेकामा खुसी प्रकट गर्नुभयो ।

निजी क्षेत्रकै आग्रहमा सरकारले अख्तियारसम्बन्धी विधेयक अगाडि नबढाइएको र नियमन गर्ने निकाय अरु नै रहेको समेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, 'स्वभाविक रुपमा निजी क्षेत्रका काम कारafही, व्यवसायजन्य कुरालाई नियमन गर्ने थुप्रै निकाय हुँदाहुँदै अख्तियारले पनि हेर्ने कुरा आयो, तपाईँहरुको असहमतिका विषयमा केही दिन पहिले पनि मैले यो अहिले आवश्यक छैन भनेको थिएँ ।'

मानव जातिले अप्ठ्यारो परिस्थिति झेल्दै आएको र त्यस्ता परिस्थितिबाट पारसमेत पाउने उल्लेख गर्नुभयो । राष्ट्रिय परिवेशमा उद्योग व्यवसायका क्षेत्रमा गरेको योगदानलाई थप विस्तार गर्दै लैजाने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, 'अहिले देखिएका सबै समस्या साझा समस्या हुन्, समाधान पनि साझा तवरले नै गर्नेछाैँ । उपलब्धि हुँदा पनि सबैका लागि, अप्ठ्यारो पर्‍यो भने पनि हामी सबै एकजुट भएर समाधान गर्नुपर्छ ।'

कोरोना महामारीका कारण यतिखेर सरकारको प्रमुख दायित्व जनताको जीवन रक्षा नै भएकाले त्यसैमा केन्द्रित गरेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले पछिल्ला दिनमा विपत्तिले पारेको असरबाट मुक्त भएर कसरी अगाडि बढ्ने सन्दर्भमा सबैको साझा प्रयास हुनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले कोरोनाकाे कारण पर्यटन क्षेत्रमा ठूलो असर परेकाले त्यसलाई पूर्ववत् अवस्थामा ल्याउन मेहनतको जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । प्रधानमन्त्रीले परिसङ्घले दिने सुझावलाई सरकारले आत्मसात् गरेर अगाडि बढ्नेसमेत स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया