कास्कीको चौरा फाँटमा असार १५ को रौनक (फोटो फिचर)

 असार १५, २०७७ सोमबार २०:२८:४९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – आज असार १५, राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन ।

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिएकाे छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।  

पर्यटकीय नगरी पोखरामा बर्सेनि हुँदै आएको असारे रोपाइँ महोत्सव कोरोना भाइरस महामारीको कारण यो वर्ष भएन । विगतको वर्षमा विदेशी पर्यटकलाई लक्षित गरी आयोजना हुने रोपाइँ महोत्सव यो वर्ष नभए पनि कृषि कर्म भने रोकिएको छैन । पोखरालगायत आसपासको क्षेत्रमा धमाधम रोपाइँको काम भइरहेकाे छ । किसानमा कोरोनाको त्राससँगै कृषिमा उमङ्ग छुट्टै छ । कास्कीको ग्रामीण भेगमा पनि धमाधम रोपाइँ भइरहेकाे छ । 

राष्ट्रिय धान दिवस भएको कारण विगतको भन्दा फरक रुपमा कास्कीको माछापुच्छ्रे गाँउपालिका २ चौरा फाँटमा असार १५ भिन्नै तरिकाले मनाइएको छ । चौरामा रहेको सयपत्री युवा क्लबको आयोजनामा असार १५ मेला गरिएकाे हाे । 

मेलामा रोपाइँसहित विभिन्न प्रतियोगिता गरी दही चिउरा खाएर मनाइएको छ । मेलामा हिलोमा दौड प्रतियोगिता, धान रोपाइँ प्रतियोगिता र हिलोमा रस्साकस्सी प्रतियोगिता गरिएको मेला संयोजक गुञ्जमान गुरुङले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया