नेपालमा कोरोना भाइरसकाे जीन अध्ययन सुरु

 असार १६, २०७७ मंगलबार १६:०:५० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड १९) को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन सुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धानकर्ताबाट कोरोना सङक्रमितमा रहेकाे जीनको अध्ययन थालेको हो । 

परिषद्का कार्यकारी निर्देशक डाक्टर प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न सुरु भएको बताउनुभयो । कोभिड–१९ काे विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ । 

परिषद्ले यसका लागि काठमाण्डौ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासँग पनि सम्झौता गर्ने तयारी गरेको छ । 

जीनको अध्ययन गर्न काठमाण्डौ विश्वविद्यालयले उपकरणसमेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताउनुभयो । 

जीन सिक्वेन्सिङका लागि अहिले प्रयोगशालाको परीक्षण, सङ्क्रमित व्यक्तिको सङ्कलित नमुना सङ्कलन गर्ने कार्य भइरहेको छ । ‘जीनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ ’ उहाँले भन्नुभयो,‘ भाइरस पत्ता लागेपछि कोभिड–१९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’ सबै देशले आफ्नो देशमा सङ्क्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जीन सिक्वेन्सी गरिरहेका छन् ।  

परिषद्ले सुरुमा १५ जना सङ्क्रमितको जीनको अध्ययन गर्ने छ र यसपछि ५० देखि ६० जनाको गर्ने छ । उहाँका अनुसार फरक–फरक देशबाट आएका मानिसको जीनको अध्ययन गरिने छ । ‘हामीले फरक–फरक देशबाट आएका सङ्क्रमित व्यक्तिको जीन अध्ययन गर्ने छौँ’ उहाँले भन्नुभयो, 'जीन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जीन  छ भन्ने पत्ता लगाउँछ ।’ 

अध्ययनबाट कोभिड १९ को सङ्क्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्ने छ । 

नेपालका सङ्क्रमित रहेकामध्ये ९८ प्रतिशत कोभिड १९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ड्राेम) नभएको पाइएको अवस्थामा अध्ययनले कुन प्रकारको जीनको कारणले यहाँका मानिसमा सङ्क्रमण रहेको र भाइरसको कुन चाहिँ जीन नेपालमा बढी रहेको भन्ने कुरा थाहा हुने छ । 

सङ्क्रमित व्यक्तिको स्वाब र रगतबाट जीन सिक्वेन्सिङ गरिने छ । जीन पत्ता लगाएपछि कोभिड–१९ को उपचारकाे लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने छ । 

चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जीनबारे अनुसन्धान सुरु गरिसकेका छन् । उहाँले जीनको अध्ययनपछि गुणस्तरीय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनको स्वीकृतमा विदेश रहेका प्रयोगशालामा समेत परीक्षण गरिने बताउनुभयो । उहाँका अनुसार  १० प्रतिशत नमूुना विदेशी प्रयोगशालामा समेत पठाइने छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया