सांसद विकास कोषको चार करोड बजेट एउटै स्याउ बगैँचामा लगानी गरिने

 असार १६, २०७७ मंगलबार २१:२६:५८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले सांसद विकास पूर्वाधार कोषको आउँदो वर्षको बजेट एउटै नमुना स्याउ र ओखर बगैँचामा लगानी गरिने बताउनुभएको छ । 

टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमुना बृहत् स्याउ तथा ओखर बगैँचा’ बनाएर पुरै बस्तीलाई नै समेटिने गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अर्थात् सांसद विकास पूर्वाधार काेषकाे एक वर्षको सबै बजेट प्रयोग गर्ने जानकारी दिनुभएको छ । 

सांसद महतले यस बगैँचा क्षेत्रको अवलोकन तथा पालिकासँगको समन्वयपछि बृहत् बगैँचाका लागि कृषि क्षेत्र तथा पशुपंक्षी विज्ञ, कृषि अनुसन्धान विज्ञसँग राय र सल्लाहसमेत माग्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपर जोन कार्यालयको सहजीकरणमा सुपर जोनसहित कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्रलगायतका उप्रमुखको सहभागितामा बृहत् चक्लाबन्दी बगैँचाका लागि कसरी अगाडि बढ्ने भनेर प्राविधिक विषयमा छलफल गरिएको छ । 

जिल्लाको तातोपानी गाउँपालिकाको गौतमबाडादेखि डाँगीवाडासम्मको जमिनलाई घेरबार, सिँचाइदेखि संरक्षण गरी नमुना उत्पादन क्षेत्र बनाइने भएको भन्दै सांसद महतले कृषि विज्ञहरुलाई जानकारी दिनुभयो । 

यस बृहत् प्याकेज कार्यक्रम निकै राम्रो र जिल्लाकै उत्पादनकाे लागि नमुना क्षेत्र हुने भएको भन्दै कृषि विज्ञहरुले सुझाव दिएका छन् । कृषि अनुसन्धान केन्द्र राजीकोटका प्रमुख राजकुमार गिरी गुणस्तरीय कलमी व्यवस्थापन, सिँचाइदेखि पोस्ट हार्भेस्ट र प्राविधिक विषयमा बढी ध्यान दिने हो भने स्याउ बगैँचा उत्तम हुने बताउनुभयो । 

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालाकराम देवकोटाले बगैँचा क्षेत्रको जग्गालाई २० वर्षका लागि लिजमा लिनुपर्ने, जुम्लाकै डेलिसिस भेराइटीकाे स्याउ रोप्नुपर्ने, बगैँचा क्षेत्रमा एप्पल कटेजसमेतको योजना बनाइनुपर्ने सुझाव दिनुभयो । 

पशु सेवा तथा भेटनरी अस्पतालका प्रमुख गोविन्द महतले बगैँचा क्षेत्रमा पशुपालनको प्याकेज पनि थपेमा राम्रो हुने बताउनुभयो । सबै खाले किसानहरुको सहभागिता हुने गरी पहिलो प्राथमिकतामा घेरबार, सिँचाइ र संरक्षण मात्र हुने हो भने उत्पादनमा वृद्धि हुनेमा दुई मत नभएको उहाँले जानकारी दिनुभयो । यस बगैँचाको लम्बाइ दुई किलोमिटर र चौडाइ एक किलोमिटर रहेको छ । 

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले गाउँपालिकाको समृद्धिमा बृहत् स्याउ बगैँचा सफल हुने भएकाले सङ्घीय सांसद महतलाई धन्यवाद दिनुभयो । उहाँले त्यही क्षेत्रमा एक करोड बढीको लिप्ट सिँचाइको डीपीआरसहितकाे काम अगाडि बढेको बताउनुभयो । बगैँचाको पहिलो काम घेरबार, दोस्रो सिँचाइ र तेस्रो संरक्षणकाे लागि चौकीदार राखिने र यसैका साथै सबै प्राविधिककाे सल्लाह अनुसार स्याउ बगैँचा अगाडि बढ्ने छ  ।    

यसैगरी सांसद महतले यसअघिका तीन वर्षको बजेट तिला गाउँपालिकाको हिमा नदीमा एक मेगावाटको बजेटमा लगानी गर्नुभएको छ । त्यस नदीबाट उत्पादन हुने बत्ती अब  एक वर्षमा बल्ने आस गरिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया