खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नागढुङ्गामा नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणकाे लागि सरकारले जारी राखेको लकडाउनमा सुरुङमार्ग निर्माण ठप्प भएको हो ।
आयोजनाको निर्माण सुरु भएको केही दिनमा नै लकडाउनकाे कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्ति अभावमा काम हुन नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।
सरकारले ४२ महिनामा निर्माण सक्ने गरी हाज्मा आङ्लो कर्पाेरेशनलाई निर्माणको जिम्मेवारी दिएको थियो । जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन याे आयोजनामा लामो समयसम्म काम नहुँदा निर्धारित समयमा निर्माण सम्पन्न नहुने देखिएको महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो ।
उहाँका अनुसार निर्माणस्थलमा अहिले १०/१२ स्थानीय कामदार मात्रै छन् । उहाँले भन्नुभयो, 'पाँच/सात सय जना काम गरिरहेकामा १०'१२ जनाले के गर्नु छ र ?' सरकारले गत चैत ११ मा लकडाउन लागू गरे पनि कम्पनीले निर्माणको काम रोकेको थिएन । स्थानीयवासीले विरोध गरेपछि काम रोकेर कामदारलाई उनीहरुको घर–घर फर्काइएको प्रमुख थापाले बताउनुभयो ।
जापानी संस्थाले सरकारको नियमको पालना गर्दा नेपालीलाई पनि घर फर्काएको थियो भने विदेशी कामदार पनि फर्किएका थिए । लाकडाउन लागू भएको एक महिनापछि विकास निर्माणलाई निरन्तरता दिइने भने पनि निर्माणस्थलमा काम गर्ने वातावरण नबनेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'टाढा–टाढाका जिल्लामा गएकालाई फर्काएर ल्याउन सक्ने अवस्था थिएन ।' निर्माण कम्पनीले गत असोजदेखि काम सुरु गरे पनि सुरुको महिनामा कामदार र निर्माण सामग्री व्यवस्थापनको काम गरेको थियो । कतिपय सामग्री नेपाली भए पनि कतिपय जापानबाट ल्याइएको उहाँले बताउनुभयो । कम्पनीले विस्फोटक पदार्थकाे लागि अनुमति पाइसकेको छैन । उहाँले भन्नुभयो, 'हामीले मागेभन्दा आधाको मात्रै स्वीकृति पाएका छौँ ।'
निर्माण सुरु भएको ५/६ महिनाको अवधिमा कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, जनशक्ति ल्याउनेलगायत काम अघि बढाएको सडक विभागले जनाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक निर्माण सुरु गरिसकेको छ । त्यही आयोजना अन्तर्गत काठमाण्डाैतर्फ बलम्बुसम्म दुई दशमलव पाँच किमी र धादिङतर्फ पाँच सय मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी शिविर कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको छ ।
सुरुङको कुल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजना अन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइ ओभर’, एउटा सर्भिस सेन्टर र ३ दशमलव १ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइ ओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुने विभागले जनाएको छ ।
तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारी साधन सहज आवत जावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारकाे लागि हुने बताइएको छ । ठाउँ–ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।
सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणकाे क्रममा प्रयोग हुने प्रमुख थापाले बताउनुभयो । माटोलाई भने सिस्ने खोलामा भरेर त्यही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने छ । त्याे स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण हुनेछ । केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्ने गरी योजना बनाइएको थियो ।
काठमाण्डाै उपत्यका छिर्ने मुख्य नाकाको चाप कम गर्न निर्माण गर्न लागिएको सुरुङमार्गले सञ्चालन भएको सात वर्षमा लगानी बराबरको प्रतिफल दिने अध्ययनमा उल्लेख छ । आयोजना सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्नेमा जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्ने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।