एक किलो सलह समाते ५० रुपैयाँ प्रोत्साहन भत्ता

 असार १८, २०७७ बिहिबार १२:३९:५९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । काठमाण्डाैकाे उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणकाे याे योजना अगाडि सारेको हो । 

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषि बाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी दिनुभयो । टोखाले सलह किरा नियन्त्रणकाे लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिडलगायतका विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।
 
यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाइ किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ ।

टोखाले सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले बालीलाई ढाक्नुपर्ने बताएको छ । टोखामा ११ वडा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया